Logo

मधेश सरकारबाट बाहिरिँदै एमाले-माओवादी, उपेन्द्रको मन्त्री पद पनि गुम्दै



काठमाडौं,३० वैशाख । जसपा नेतृत्वको मधेश प्रदेश सरकारबाट नेकपा एमाले र माओवादी केन्द्र बाहिरिने तयारी गरेका छन् । गत बुधबार नै बाहिरिने तयारी गरेका यी दुई दल आज भोलि मै बाहिरिने तयारीमा पुगेका हुन् ।

हाल मधेश सरकार जसपाका सरोज यादवको नेतृत्वमा छ । तर, गत सातामात्र जसपा फुटेपछि प्रदेश सरकार संकटमा परेको छ । जसपाका वरिष्ठ नेता अशोक राईले पार्टी विभाजन गरेर नयाँ दल गठन गरेका थिए ।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गर्दै सनाखतका लागि १३ जेठसम्मको समय दिएको छ । 

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार ढाल्न खोजेको भन्दै बहुमत सांसदहरुले पार्टी विभाजन गरेका हुन् । हाल मधेशका मुख्यमन्त्री रहेका यादवले उपेन्द्र पक्षलाई समर्थन गर्ने भएसँगै उनको विकल्पको खोजी हुन् थालेको हो । स्रोतका अनुसार मधेशमा एमाले, माओवादीसहित जनमत र लोसपा मिलेर सरकार बनाउने तयारी छ । पहिलो चरणमा जनमतलाई सरकारको नेतृत्व गर्न दिने र दोस्रो चरणमा एमालेले सरकार बनाउने समझदारी बनेको स्रोतले जनाएको छ ।

प्रदेश सरकार बदलेर नयाँ सरकार गठन गर्न यसबीचमा एमाले अध्यक्ष ओली र प्रचण्डले जनमतका अध्यक्ष सीके राउतसँग छलफल गरिसकेका छन् । पहिलो चरणमा जनमतलाई प्रदेशको नेतृत्व दिने र दोस्रो चरणमा आफूले सरकारको नेतृत्व गर्नेमा एमाले सहमत हुनसक्ने आंकलन भईरहेको छ । मधेशमा उपेन्द्रपक्ष सरकारबाट बाहिरिएमा जनमतसँगै लोसपा पनि सरकारमा भित्रिने सत्ता गठबन्धनको विश्वास छ ।

मधेशमा जनमत र लोसपालाई समेट्न सके उपेन्द्रपक्षलाई केन्द्र सरकारबाट हटाएर नयाँ दललाई मन्त्रिपरिषद्मा ल्याउन सकिने विश्वासमा प्रचण्ड छन् । यहि त्यस्तो भएमा सरकार अहिले भन्दा बलियो बन्ने र वैकल्पिक सत्ता गठबन्धन बन्ने सम्भावना पनि नरहने बुझाई प्रचण्ड-ओलीमा छ ।

१०७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५४ जना सांसदको समर्थन चाहिन्छ। अहिले विकास भइरहेको राजनीतिक घटनाक्रम अनुसार एमाले, माओवादी, जनमत, एकीकृत समाजवादी र लोसपा मिलेको अवस्थामा सरकार बनाउन सहजै छ।

एमालेका २३, माओवादीका ९, लोसपाका ८, जनमतका १३, एकीकृत समाजवादीका ७ जना सांसद छन्। उपेन्द्र यादवबाट फुटेको नयाँ जसपाबाट भने कति जना सांसद रहेको खुलेको छैन। मधेश प्रदेशमा जसपाका १९ सांसद छन् । त्यसमध्ये ७ जना समानुपातिक सासद हुन् । 

अर्थ मन्त्रालय नपाएको भन्दै माओवादी संसदीय दलका नेता भरत साह मुख्यमन्त्री यादवसँग असन्तुष्ट छन । मुख्यमन्त्रीले उनलाई वन तथा वातावरण मन्त्रालयाको जिम्मेवारी तोके पनि उनले स्वीकार गरेका छैनन्।

मधेश सरकार बनेदेखि नै माओवादी असन्तुष्ट रहँदै आएको थियो । २ मन्त्रालय लिएर सरकारमा माओवादी सामेल भएपनि मन्त्रालयमा चित्त नबुझेको भन्दै प्रदेश संसदीय दलका नेता भरत साहले मन्त्रालय सम्हालेका छैनन् । उनले अर्थमन्त्रालयमा दाबी गरेपनि मख्यमन्त्री यादवले वन मन्त्रालय दिएपछि साह रुष्ट छन् ।

यता प्रदेशमा मात्र नभएर संघीय सरकारमा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । उच्च स्रोतका अनुसार प्रचण्डले उपेन्द्र यादवको पार्टीबाट मन्त्री रहेका यादव र वन राज्यमन्त्री दीपक कार्कीलाई बर्खास्त गर्ने तयारी गरेका छन् । उपेन्द्रको स्थानमा नवगठित जसपाका प्रदीप यादवलाई मन्त्री बनाउने तयारी छ भने राज्यमन्त्रीमा सुशीला श्रेष्ठ वा रञ्जु झामध्ये एक जनाको चर्चा छ ।

तर, जसपा अध्यक्ष राईले आफू र पत्नी सुशिला अहिले सरकारमा नजाने सन्देश बालुवाटारलाई दिएका छन् । राईले वीरेन्द्र महतो र प्रदीप यादवमध्ये एकलाई सरकारमा पठाउन चाहेका छन् । राज्यमन्त्रीमा भने सुशीला नजाने भएसँगै रञ्जु झा निश्चित जस्तै छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि प्रधानमन्त्री पुनर्गठनको तयारीमा लागेको बताइएको छ ।

यो पनि



प्रतिक्रिया दिनुहोस्

Screenshot