काठमाडौं, ३१ वैशाख । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समिति बनाएर छानविन हुनुपर्ने बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीले बोकेर हिँडेको भन्दै आपत्ति जनाए । उनले ‘यति विवादित मान्छेलाई बोकेर हिँड्दा काँध गन्हाएको छैन ?’ भन्दै ओली–प्रचण्डलाई प्रश्न गरे । ‘ठगले नानाथरी कुरा गर्दै हिँडिराखेको छ । ओलीजी र प्रचण्डजीले बोकेर हिँड्नु भएको छ । यो सारा दुनियाँलाई थाहा छ, कण्ठै छ नि,’– उनले भने ।
‘सहकारी ठगी प्रकरणमा दोषी नभए समिति गठन गर्न किन आपत्ति ?’ भन्दै उनले उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि प्रश्न गरे । उनले पत्रकार धमलालाई रवि अन्तरवार्तामा बहस गर्न पनि अनुपयुक्त पात्र रहेको बताए । ‘समिति गठन गर्न किन नमानेको त ? किन भागेको छ ? संसदीय समिति गठन हुने गरेका थिए । यस्ता मान्छेका बारेमा पनि तपाईँ बेकारमा अन्तरवार्ता लिनुहुन्छ ?…लाईभन्दा देख्नेलाई लाज,’– उनले भने ।
साथै, प्रधानमन्त्री प्रचण्ड अङ्कगणितीय हिसाबले कमजोर बनेको उनको भनाइ छ । उनले प्रचण्ड–ओलीले लामिछानेजस्तो विवादित पात्रलाई जोगाउन लागिपर्दा नेता तथा कार्यकर्ताहरुलाई लाज हुनुपर्ने टिप्पणी गरे । शक्ति, पद र सत्ताका लागि ओली–प्रचण्ड पतन भएको उनले बताए ।
‘प्रचण्डजी अङ्कगणितको धारापमा पर्नुभएको छ । एमालेभित्र लामो समय काम गरेका साथीहरु, माओवादीभित्र पनि लामो समय क्रान्तिमा, आन्दोलनमा होमिएका साथीहरु आफ्ना नेताहरुले यस्तो कुकर्म गर्दा, यस्तो नालायक नीति अपनाएर हिँड्दाखेरी कसरी हिँड्नु भएको छ । रवि लामिछानेकै पक्षमा वकालत गरेको देख्दाखेरी मलाई त वैराग लाग्छ । सत्ता, शक्ति र पदका लागि मान्छे यति पतन पनि हुँदारहेछन्,’– उनले भने ।
राज्यसत्ताले ठगलाई जोगाउन नहुने उनको भनाइ छ । ढिलोचाँडो जनताले यसको हिसाब गर्ने उनको चेतावनी छ ।