Logo

प्रचण्डसँगको सम्बन्धबिच्छेदपछि उपेन्द्रको दौडधुप सुरू, मधेश प्रदेश जोगाउन अन्तिम कसरत



काठमाडौं, ३१ बैशाख । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव केन्द्र सरकारबाट बाहिरिएका छन् । पार्टी विभाजन भएको एक सातापछि उनी सरकारबाट आज बाहिरिएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले नै आफ्नो पार्टी फुटाएको भनेर सार्वजनिक आरोप लगाएका यादव सरकारबाट अलग हुन चाहेका थिएनन् ।

तर, मधेश प्रदेश सरकारबाट यादवको पार्टीलाई विस्थापित गर्नेगरि प्रधानमन्त्री दाहालले कदम चालेपछि भने यादव केन्द्र सरकारबाट बाहिरिने र मधेश प्रदेश सरकार जोगाउने अन्तिम कसरतमा उत्रिएका छन् । मधेश प्रदेश सरकारको नेतृत्व यादवको दलबाट सरोज यादवले गरेका छन् ।

तर, हिजो (आइतबार) माओवादी केन्द्र र एमालेले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय एकसाथ गरेपछि सरोज यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ। हिजो नै मधेशमा नयाँ सरकार बनाउनेगरि एमाले, माओवादी केन्द्र, जनमत पार्टी र लोसपाबीच निर्णायक सहमति भएको कुरा बाहिर आएको छ ।

चार दलबीच सरकारको नेतृत्व पहिलो चरणमा कसले गर्ने भन्ने विषयमा भने सहमति भैसकेको छैन् । माओवादी र एमालेमध्ये जसले नेतृत्व गरेपनि हुने भन्दै अरु दल खुला छन् । मधेश सरकारको नेतृत्व एकचोटी आफूहरुले पनि गर्न चाहेको जनमत पार्टीका नेताहरुले भन्न थालेका छन् ।

जनमत पार्टीका अध्यक्ष सिके राउतले यो विषयमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरिसकेका छन् । यता, उपेन्द्र यादव भने केन्द्र सरकारबाट मात्रै नभएर मधेश सरकारबाट पनि बाहिरिनुपर्ने जोखिममा पुगेपछि सरकार जोगाउनको लागि दौडधुपमा लागेका छन् ।

कांग्रेसको साथ पाउने लभगल पक्का भएपछि उपेन्द्रले महन्थ ठाकुरको साथ खोजेका छन् । लोसपापनि अहिले पर्ख र हेरमा छ । मधेश प्रदेश सरकारमा पार्टी विभाजनको असर नपरे उपेन्द्रले लोसपा र माधव नेपालको पनि साथ खोजेका छन् । तर, प्रधानमन्त्री दाहाल भने कुनैपनि हालतमा मधेश प्रदेश सरकारबाट उपेन्द्रको दललाई हात धुने बनाउन चाहन्छन् । file photo



प्रतिक्रिया दिनुहोस्