काठमाडौं, ३१ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् पूनर्गठनको तयारी थालेका छन् । उपेन्द्र यादवको सरकारबाट बहिर्गमनसँगै अशोक राई नेतृत्वको जसपाबाट प्रदीप यादव, रञ्जु ठाकुर र हसिना खान आजै मन्त्री बन्दैछन् । उनीहरुको शपथ आज साँझ ५ बजेको लागि तोकिएको छ ।
प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सल्लाहमा नै उपेन्द्रलाई सत्ताबाहिर पुरयाएका हुन् । उपेन्द्र तत्कालै सरकार छोड्ने मुडमा थिएनन् । तर, ओलीकै जोडबलमा प्रधानमन्त्री दाहालले हिजो उपेन्द्रलाई फोन गरेर राजीनामा नदिईए बर्खास्त गर्ने चेतावनी दिएका थिए । त्यसको भोलिपल्ट आज (सोमबार) यादव सरकारबाट बाहिरिएका हुन् ।
उनले सरकारलाई दिएको समर्थनपनि फिर्ता लिँदैछन् । प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीले अब सरकारबाट माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई बाहिर पठाउनेगरि गृहकार्य थालेका छन् । आफ्नो सरकार ढालेर कांग्रेससँग मिलेर नयाँ सरकार बनाउनको लागि माधव नेपालले सक्रिय भूमिका खेलेको थाहा पाएपछि प्रधानमन्त्री दाहाल उनीविरुद्ध हदैसम्मको कठोर बन्ने निश्कर्षमा पुगेका हुन् ।
माधव नेपालले उपेन्द्र यादवको साथ लिएर कांग्रेससँग सत्ता–सहकार्यको लागि गृहकार्य गरेको सुईंको पाएपछि पहिलो चरणमा उपेन्द्रको दल विभाजन गरेर दाहाल र ओलीले नमिठो जवाफ दिएका छन् । अब माधव नेपालको दललाई सरकारबाट गलहत्याउने उनीहरुको दाउ छ ।
मन्त्रिपरिषद् पूनर्गठनमा प्रधानमन्त्री दाहालले सिके राउत नेतृत्वको जनमत पार्टी र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीदेखि स्वतन्त्र सांसद अमरेशकुमार सिंह र आम जनता पार्टीका अध्यक्ष प्रभु साहलाईसमेत समेट्न खोजेका छन् । प्रधानमन्त्री दाहालले संवैधानिक व्यवस्थाअनुसार २५ जनाको क्याविनेट बनाउने पाउनेछन् ।
अहिलेसम्म २३ जनाको क्याविनेट छ । सरकारको गणित सुनिश्चित् गर्नको लागि एमाले र माओवादीले एक/एक मन्त्रालय त्याग गर्नेसम्मको गृहकार्य गरिएको प्रधानमन्त्री दाहालनिकट उच्च स्रोतको भनाई छ ।