Logo

एक–अर्कालाई सिध्याउने प्रचण्ड र उपेन्द्रको तयारी, उपेन्द्रलाई अब तँग्रिनै नदिने प्रचण्डको रणनीति



काठमाडौं,३१ वैशाख । पार्टी विभाजन भएको एक सातापछि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएको छ । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका हुन् ।

राजीनामा बुझाएपछि बसेको जसपा नेपालको केन्द्रीय कार्यकारीणी समितिको बैठकले सरकारमा सहभागी दलहरुले नै पार्टी फुटाएको निष्कर्ष निकालेको छ । बैठकले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।

आज बसेको बैठकको निर्णय सुनाउँदै उपेन्द्र पक्षका सांसद राजकिशोर यादवले सत्तामा बस्नेले नै पार्टी विभाजन गराएको प्रष्ट भएको दाबी गरे । उनले अहिले पार्टी आन्तरिकरुपमा तङ्ग्राउन लाग्ने बताएका छन् । यादवले भने, ‘राज्य नै लागेर फुटाइयो । सरकारकै नेतृत्वकर्ताहरू पार्टी विभाजन गराउनका लागि लाग्नुभयो र पार्टी विभाजनपश्चात राष्ट्रिय राजनीतिमा जुन घटनाहरु भइरहेका छन्, त्यहाँ नैतिक रुपले बसिरहन मिलेन । सरकारले गैरजिम्मेवारी काम गर्‍यो त्यसको विरुद्धमा हामी लाग्नेछौँ । पहिला आन्तरिक शक्ति सञ्चय गर्नेछौँ ।’

उपप्रधान तथा स्वास्थ्यमन्त्रीको रुपमा विदेश भ्रमणमा रहँदा यादवको पार्टी विभाजन भएको थियो । संघीय परिषद् अध्यक्ष रहेका अशोक राईले यादवमाथि एक दर्जन आरोप लगाउँदै पार्टी विभाजन गरेका हुन् । प्रतिनिधि सभामा १२ सीट रहेको जसपा नेपालका ७ जना सांसदले राईलाई समर्थन गरेका छन् ।

आफू विदेशमा रहँदा पार्टी फुटाईदिएको भन्दै प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उपेन्द्र रुष्ट बनेका छन् । उनले तत्कालका लागि पार्टीका कार्यकर्तालाई राईको पक्षमा जानबाट रोक्ने र त्यसपछि सत्तारुढ दुई दलविरुद्ध लड्ने रणनीति लिएका छन् ।

प्रचण्ड सरकारमा पटक पटक सहभागी हुँदै आएको जसपा र माओवादीबीच विगतदेखिनै सम्बन्ध राम्रो छैन् । तत्कालीन मधेशी जनाधिकार फोरमको नेतृत्व गरेका यादव र माओवादीबीच पहिलो संविधान सभाको निर्वाचनमा मधेशको बर्चस्व आफ्नो पक्षमा पार्नमा होडबाजीनै चलेको थियो । यद्यपी मधेशमा माओवादी भन्दा उपेन्द्रकै पार्टी बलियो भयो ।

पहिलो संविधान सभा निर्वाचनमा एक-अर्काका प्रतिस्पर्धी देखिएका यी दुई दल चुनावको केही दिनअघि रौतहटको गौरमा आमनेसामने भए । जसमा माओवादीका ठूलो संख्यामा कार्यकर्ता मारिए । उक्त घटनालाई नरसंकारकारी गौर घटनाको रुपमा लिईन्छ । सो घटनामा उपेन्द्रको संलग्नता रहेको आरोप लाग्दै आएको छ। हाल पनि सो मुद्दा सर्वोच्चमा विचाराधीन छ ।

प्रचण्डसँग ‘लभ एण्ड हेट’ को सम्बन्धमा रहेका उपेन्द्र फेरि एकचोटी माओवादीसँग मधेशमा वारपारको लडाईंमा होमिनेगरि तयारीमा जुटेका छन् । यो एक महिनाममा पार्टीलाई आन्तरिक रुपमा थप क्षति हुन नदिने र कार्यकर्तालाई जोगाउने रणनीतमा रहेका उपेन्द्रले त्यसपछि माओवादीसँग अन्तिम लडाई तयारी गरेका हुन् ।

माओवादीसँग अन्तिम लडाईं लड्ने उपेन्द्रले तयारी गरेपछि यता प्रधानमन्त्री प्रचण्डले पनि उपेन्द्रलाई तह लगाउने गरि रणनीति बनाउन लागेका छन् । उच्च स्रोतका अनुसार प्रचण्डले उपेन्द्रलाई साईजमा राख्नकै लागि आम जनता पार्टी गठन गरेका पूर्व माओवादी नेता प्रभु साहदेखि वैकल्पीक राजनीतिक शक्ति निर्माण गर्न भन्दै राजनीतिमा होमिएका जनमत पार्टीका अध्यक्ष डा सीके राउतसम्मलाई एकठाउँमा उभ्याउनेगरी गृहकार्यमा लागेका छन् । त्यसका लागि प्रचण्डलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पनि दरिलो साथ रहेको छ । प्रचण्डले सीके राउत र प्रभु साहलाई सरकारमा सामेल गराउनेसम्मको तयारी गरेका छन् । त्यसका लागि सत्ता सहयात्री दल एमाले तयार रहेको स्रोतको भनाई छ ।

नरसंहारकारी गौर घटनाबाट दुखी रहेका प्रचण्डले पनि सम्भवत माओवादीका ठूलो संख्यामा मारिएका कार्यकर्ताको परिवारलाई न्याय दिनेगरि काम गर्ने बताउँदै आएका छन् । त्यसका लागि निवर्तमान उपप्रधान तथा गृहमन्त्री रहेका नारायणकाजी श्रेष्ठले पीडितका परिवारलाई पनि भेटेका थिए । उनले पीडितका परिवारलाई भेटेर ढिलै भएपनि न्याय दिलाउन सरकार प्रतिवद्ध रहेको विश्वास दिलाएका थिए । यसरी कुनैबेला एकअर्काका लागि सत्ताका साझेदार बनेका दुई दल अहिले फेरि सत्ताकै लागि एक अर्कालाई सिध्याउने तहमा उत्रिएका छन् ।



प्रतिक्रिया दिनुहोस्