Logo

संसदीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसको अडान कायमै, आज संसदीय दलको बैठकले थप रणनीति तय गर्ने



काठमाडौं, जेठ १ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । यसअघि सोमबार बस्ने भनिएको संसदीय दलको बैठक बैठक आज बिहान ९ बजेका लागि सारिएको थियो ।

सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गर्दै आएको कांग्रेसले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफलका लागि बैठक स्थगित गरेको थियो । सत्तारुढ तीन दलका शीर्ष नेताहरू सोमबार बेलुका गरेको छलफलमा नेपाली कांग्रेसले भनेजस्तो संसदीय समिति गठन गर्ने कुरा असम्भव रहेको निष्कर्षमा पुगेको छ ।

त्यसअघि आइतबार विहान बालुवाटारमा संसदीय छानबिन समिति बनाउने विषयमा छलफल गर्न कांग्रेसका शीर्ष नेतासहित प्रधानमन्त्रीको बैठक बसेको थियो । जसमा आजसम्म निष्कर्षमा पुग्ने प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका थिए ।

सहकारीको बचत अपचलनमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति नबनेसम्म संघका दुवै सदनको कामकारबाही अघि बढ्न नदिने हिसाबले आफ्नो अडान यथावत् राखेको कांग्रेसले नयाँ बानेश्वरस्थित संघीय संसद्‌ भवनको ल्होत्से हलमा बस्ने आजको बैठकबाट थप रणनीति तय गर्ने तयारी छ ।

आज राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्नुहुने कार्य तालिका छ । तर, कांग्रेस सहकारीको बचत अपचलनमा गृहमन्त्री लामिछानेको संलग्नता रहेको भन्दै छानबिनका निम्ति संसदीय समिति गठन नभए नीति तथा कार्यक्रम पेस गर्न नदिने तयारीमा छ ।

संसदीय दलको बैठक अघि प्रधानमन्त्रीसँग छलफल गर्न कांग्रेस महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक लगायतका नेताहरु बालुवाटार पुगेका छन् ।



प्रतिक्रिया दिनुहोस्