काठमाडौं, जेठ १ । भारतको मुम्बईमा अचानक आएको आँधीका कारण एउटा विशाल होर्डिङ बोर्ड भत्किँदा १४ जनाको मृत्यु भएको छ । नव भारत टाइम्सका अनुसार दुर्घटनामा परी करिब ७४ जना घाइते भएका छन् । प्रहरीका अनुसार ७० मिटर लामो होर्डिङ बोर्ड सहरको घर र पेट्रोल स्टेसनमा खसेको थियो ।
उद्धार कार्य जारी रहेकाले करिब २० देखि ३० जना अझै फसेको आशंका गरिएको आपतकालीन सेवाले जनाएको छ । मुम्बई शहरमा वर्षा र धुलोको आँधीले रुखहरू ढलेसँगै बिलबोर्ड खसेको थियो ।
होर्डिङ बोर्ड खसेर सवारी साधनहरू पनि च्यापिएको दृश्य सामाजिक सञ्जालमा आएका छन् । घटनास्थलमा उद्धारका कामहरु भैरहेका छन् । होर्डिङ बोर्ड मुनिबाट पीडितलाई निकाल्न धातु काट्न विभिन्न ठूला उपकरणहरू प्रयोग भैरहेको छ ।