Logo

आन्दोलनरत आजपा पक्ष र सरकारी टोलीबीच आज वार्ता, यस्ता छन् आन्दोलनरत पक्षका माग



काठमाडौं, जेठ १। भन्सार कानुनमा रहेको ४५ प्रतिशत पुरस्कारको प्रावधानको विरुद्ध वैशाख २० गतेदेखि निरन्तर भन्सार विभाग घेराउ गर्दै आएको आम जनता पार्टी (आजपा) को आन्दोलनरत पक्षलाई भन्सार विभागले वार्तामा बोलाएको छ ।

भन्सार नियन्त्रणको नाममा तराई क्षेत्रका जनताको निजी सम्पति लुट्ने काम तुरुन्त बन्द गर्न र भन्सार कानुनमा रहेको ४५ प्रतिशत पुरस्कारको प्रावधान हटाउन झण्डै ६ महिनादेखि निरन्तर संघर्ष गर्दै आएको रञ्जु साह संयोजक रहेको आजपा आम सम्पर्क मञ्चले चौथो चरणको आन्दोलन अन्तरगत वैशाख २० गतेखि त्रिपुरेश्वरस्थित भन्सार विभाग घेराउ गर्दै आएको छ ।

विभागका महानिर्देशक ढुण्डी प्रसाद निरौला, अर्थ मन्त्रालयका सचिव, काठमाडौंका प्रमुख जिल्ला अधिकारी र आजपाका प्रतिनिधिहरुबिच आज दिउँसो वार्ता हुन लागेको हो ।

आजपा आम सम्पर्क मञ्चकी संयोजक साहले वार्ताका लागि बोलावट भएको जानकारी दिँदै पार्टीसँग आन्तरिक छलफल गरेर विभागसँगै आजै वार्ता हुने जानकारी दिइन् । भन्सार नियमावलीमा रहेको परिच्छेद–१० को पुरस्कार सम्बन्धि सम्पूर्ण प्रावधान हटाउनुपर्ने, कर कानुन, राजस्व कानुन र भन्सार कानुनमा एकरुपता ल्याउन भन्सार नियमावलीबाट अनावश्यक प्रावधान हटाउनुपर्ने विषयमा आजको वार्ता केन्द्रित हुने उनको भनाई छ ।

आजपाका अध्यक्ष प्रभु साहले भन्सार नियमावलीमा रहेको लुटकारी व्यवस्था खारेज हुनुपर्ने आफूहरूको माग रहेको भन्दै यसका लागि सरकार गम्भीर बन्नुपर्नेमा जोड दिएका छन्। राजस्वमा हुने ४५ प्रतिशतको कमिशन व्यवस्था गलत भएकाले खारेज हुनुपर्ने बताउँदै उनले मुलुक सञ्चालनको प्रमुख आम्दानीको स्रोत भन्सार राजस्व देशको समृद्धिका लागि सदुपयोग होस् भनी पार्टीले निरन्तर खबरदारी गर्दैआएको बताए । राजस्वबाट व्यक्ति मोटाउने र राज्य दुब्लाउने प्रवृत्ति बढेकामा चिन्ता व्यक्त गर्दै उनले देश विकासका निम्ति अवैध ओपासपोसार रोक्न र भन्सार राजस्व वृद्धि गर्न सिमामा भन्सार कार्यालय खोल्न र भन्सार व्यवस्थापनलाई चुस्त तुल्याउनुपर्नेमा जोड दिए ।

आजपाले भन्सार कानूनमा लुटकारी व्यवस्था रहेको भन्दै भन्सार कानुनमा रहेका सम्पूर्ण विभेदकारी एवं लूटकारी प्रावधान हटाउन माग गर्दै आएको छ । यस्तै भन्सार महशुल नबुझाएकै कारण निजि सम्पति जफत गर्ने व्यवस्थाको सट्टा भन्सार नबुझाएमा उचित दण्डको व्यवस्था गर्नुपर्ने, प्रत्येक व्यापारिक नाकाहरुमा भन्सार कार्यालय स्थापना तथा स्तरवृद्धि गर्नुपर्ने, घरायसी प्रयोजन र व्यापारिक प्रयोजनका वस्तुहरुको पहिचानको स्पष्ट व्यवस्था गरी घरायसी प्रयोजनको लागि ल्याइने उपयोग्य वस्तुहरुमा कुनै भन्सार कर नलाग्ने व्यवस्था गर्नुपर्ने आजपाको माग छ ।

भन्सार नियमावलीको परिच्छेद १० को दफा ४७, ४८, र ४९ मा गरिएको व्यवस्थानुसार कुनै चोरी निकासी वा पैठारीको माल समान पक्राउ गरी भन्सार कार्यालयमा बुझाउनेलाई ३० प्रतिशत र त्यसको सुराक दिनेलाई १५ प्रतिशत गरी कुल रकमको ४५ प्रतिशत रकम पुरस्कार स्वरूप व्यक्तिलाई दिने व्यवस्था छ। अर्थात् भन्सार छलीको माल सामानबाट प्राप्त रकमको झन्डै आधा (४५ प्रतिशत) पैसा व्यक्तिको निजी हुने व्यवस्था छ। आजपाले यसअघि गत असोजमा पनि भन्सार विभाग घेराउ गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्