काठमाडौं, १ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टी भएकोले सफल हुने दाबी गरेका छन् । तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पार्टीका नेता तथा कार्यकर्ताहरुलाई एमालेमा तान्नको लागि न्वारानदेखिको बल लगाएको उनको आरोप छ ।
आजबाट सुरू भएको केन्द्रीय कमिटीको बैठकमा सम्बोधन गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । उनले भने,‘हाम्रो पार्टीप्रति जनताको ठूलो हिस्साको विश्वास र भरोसा छ । तर, कतिपय शक्तिहरु अत्यन्तै षड्यन्त्रपूर्वक ढंगबाट लागेका छन् । बाई हुक ओर क्रुक आफ्नो शक्ति वृद्धि गर्न लागेका छन् । साम, दाम, दण्ड र भेद सबैको प्रयोग गरेर सबै पार्टीभित्र अन्तरविरोध पैदा गरेर विभिन्न पार्टीका कार्यकर्ताहरुलाई प्रलोभनमा पारेर आफनो पक्षमा तान्न न्वारानदेखिको बल लगाईरहेका छन् । कसले बल लगाएको छ कमरेड भनिदिनुस न भन्नुहोला । बडा गाह«ो छ भन्न । तर, गाह«ो नमान्नुहोस यो सजिलो नै छ ।’
उनले एमाले अध्यक्ष ओलीको नाम नलिईकन उनैलै आफ्ना पार्टीका कार्यकर्ताहरु एमालेमा तान्नको लागि न्वारानदेखिको बल लगाएको आरोप लगाएका हुन् । योबीचमा आफ्नो पार्टीपनि फुट्न लागेको भन्ने हल्ला चलाईएको स्मरण गराउँदै नेपालले बाहिर हल्ला कहिलेकाहीँ सत्यतामा परिणत भएकोले पत्याउँदिनँ भनेर बस्न नहुने सुनाए ।