Logo

चीनको ऋणको कारण हामी श्रीलंकाको हालतमा पुग्छौं : डा. दीक्षित (भिडिओसहित)



काठमाडौं, २ जेठ । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले सरकारलाई भारतसँग पारिवारिक र गाढा मित्रताको सम्बन्ध कायम गर्न सुझाव दिएका छन् । भारत र चीनले गरेको ठूलो प्रगतिबाट नेपालले पनि लाभ लिनुपर्ने उनको भनाई छ ।

२००७ सालदेखि नै नेपालको विकासमा भारतको साथ र सहयोग रहँदै आएको स्मरण गराउँदै दीक्षितले सोधे–‘नेपालमा त्रिभुवन राजपथ कसले बनाईदियो ? एयरपोर्ट कसले बनाईदियो ? डेकोरा प्लेन कसले दियो ? यहाँ सबै उद्योगहरु सबैभन्दा पहिले कसले दिएको हो ?’ हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भारतले नेपालमा ००७ सालदेखि नेपालको विकासमा सहयोग गरेको बताए ।

उनले नेपालमा शिक्षा र स्वास्थ्य क्षेत्रमा भारतले ठूलो सहयोग गरेका स्मरण गराए । तर, भारतले नेपालमा जति नै विकास गरेपनि यहाँ भने आलोचना गर्ने गरिएकोमा उनले गुनासो पोखे । उनले भने,‘भारतले नेपालमा विकास गरेको गरैछ । तर, यहाँ जति गरेपनि ए धोती भनेको छ, गाली गरेको छ । त्यहीपनि उसले नेपालमा सहयोग गर्दै आएको छ ।’

नेपालको विकासमा चीन त धेरैपछि जोडिएको उनको भनाई छ । अमेरिकाको दानको गहुँ खाएर बाँचेको बेलामा पनि भारतले नेपाललाई सहयोग गरेको उनको भनाई छ । दीक्षितले नेपालले चीनसँग बीआरआईअन्तर्गत ऋण लिन नहुने धारणा राखे ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनको बीआरआईअन्तर्गत ऋणमा लिएको हो भने नेपालको हालत श्रीलंका हुने उनको दाबी छ । ऋण तिर्न नसक्दा चीनले नेपालको जमिन लिनेपनि उनले टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्