काठमाडौं, २ जेठ । सिंहदरबार बसेको सत्ता गठबन्धनका मुख्य घटक एमाले, माओवादी केन्द्र र रास्वपाका नेतृत्वकर्ताहरुको बैठक सकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति एवम् गृहमन्त्री रवि लामिछानेबीचको छलफल सकिएको छ ।
सदनको अवरोध खुलाउने विषयमा र समसामयिक विषयमा तीन नेताबीच सिंहदरबारमा गम्भीर छलफल भएको हो । बैठकपछि बाहिरिने क्रममा गृहमन्त्री लामिछानेले आफूले सदनमा बोल्न पाउनुपर्ने अडान दोहोर्याए ।
उनले भने,‘मैले सदनमा बोल्न पाउने कुरा मेरो अधिकारको कुरा हो । त्यसपछि कुरा अघि बढिहाल्छ । त्यसपछि चित्त बुझेन, जवाफ नै चित्त बुझेन भने त उहाँहरुको विरोध गर्ने अधिकारको पूरै सम्मान गरिहाल्छौं । लोकतन्त्रको त्यति अभ्यास गर्नुपर्छ । नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीलाई त्यति अभ्यासमा त चुक्नुहुँदैन जस्तो लाग्छ मलाई, त्यति भइदियो भने र भनेको कुरामा चित्त बुझेन भने गर्ने निर्णय त भैहाल्छ । आज त्यही नै सल्लाह भएको छ ।’
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम