Logo

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै



काठमाडौं, जेठ ३ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन् । आज बस्ने प्रदेशसभा बैठकमा सोडारीले विश्वासको मत लिने कार्यसूची छ । बिहान १०ः३० बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत दिने प्रदेशसभा सचिवालयले जनाएको छ ।

नेकपा (एकीकृत समाजवादी) पार्टीका सोडारी वैशाख ६ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए। यसरी नियुक्त भएका मुख्यमन्त्रीले एक महिनाभित्रै विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान रहेको छ ।

उनी नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी, स्वतन्त्र प्रदेश सभा सदस्यलगायतको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। यसअघि एमालेले विश्वासको मत दिनेबारे निर्णय नगर्दा वैशाख २१ र २२ गते मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको बैठक स्थगन गरिएको थियो । सत्ता साझेदार नेकपा एमालेले आफूहरूको तयारी नपुगेको र थप छलफल गर्नुपर्ने अडान राखेपछि बैठक स्थगित गरिएको थियो ।

५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा बहुमत पुर्‍याउनका लागि २७ सदस्यको समर्थन आवश्यक पर्ने गर्दछ । गठबन्धन दल एमालेका ११, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका सात र मुख्यमन्त्रीको आफ्नै पार्टी (एकीकृत समाजवादी) का चार जना प्रदेश सभा सदस्य रहेका छन्।

यसै गरी एक स्वतन्त्र प्रदेश सभा सदस्यको पनि मुख्यमन्त्रीलाई समर्थन रहेको छ । नागरिक उन्मुक्ति पार्टीका सात जना प्रदेश सभा सदस्य रहे पनि पार्टी अध्यक्ष पक्षधर भनिएका दुई जना प्रदेश सभा सदस्यको मात्रै मुख्यमन्त्रीलाई समर्थन रहेको छ । मुख्यमन्त्रीले सदनबाट विश्वासको मत लिन नसकेका कारण प्रदेश मन्त्रीपरिषद्ले पूर्णता पाउन सकेको छैन ।



प्रतिक्रिया दिनुहोस्