Logo

‘फर्की फर्की’ मा ‘टाइम लुप’को प्रयोग



काठमाडौँ, ४ जेठ । नेपालमा सामाजिक विधा (सोसल ड्रामा) मा धेरै चलचित्र बनिरहेका छन् । सफल चलचित्रको सूची हेर्ने हो भने हाँस्य शैलीमा तयार गरिएका सामाजिक विषयवस्तुका चलचित्र नै दर्शकको रोजाइमा परेको देखिन्छ । केही वर्ष यता ‘जात्रा’, ‘कबड्डी’ र ‘छक्का पञ्जा’ शृङ्खलाको व्यावसायिक सफलता यसका उदाहरण हुन् । हाँस्य शैलीको बढ्दो प्रभावले प्रेम कथानक चलचित्र निकै कम बनिरहेका छन् ।

अन्य, विधामा नेपालमा चलचित्र बनाउन निर्माताले आँट नगरिरहेको बेला आउँदो बुद्ध जयन्तीलाई लक्षित गरी जेठ १० गते प्रदर्शन गरिने चलचित्र ‘फर्की फर्की’ मा प्रेम कथासँगै ‘टाइम लुप’ को प्रयोग गरिएको छ । सम्भवतः नेपाली चलचित्रमा टाइम लुप पहिलोपटक प्रयोग गरिएको हो । किनकि यसअगाडि यस्ता प्रयोग चलचित्रमा गरिएको छैन ।

विश्व चलचित्रमा भने ‘टाइम लुप’ र ‘टाइम ट्राभल’ जस्ता प्रयोग तथा विषय सामान्य मानिन्छ । निर्देशक तथा लेखक सुयोग गुरुङले प्रेम कथानकलाई ‘टाइप लुप’ मा जोड्दा दर्शकले नयाँपन अनुभूति गर्न पाउने बताए । उनले भने, “हामीले नयाँ विधालाई ल्याएनौँ भने एकै किसिमको मात्र चलचित्र बन्छ । त्यही कारण म र मेरो समूहले नयाँ प्रयोग गर्ने कोसिस गरेका हौँ । टाइम ट्राभल खर्चिलो हुने भएकाले टाइम लुपको प्रयोग चलचित्रमा गरिएको छ ।”

‘टाइम ट्राभल’ मा विशेषतः पात्र एक समयबाट अर्को समयमा पुग्ने गर्छ । प्राविधिक दृष्टिले अगाडि वा पछाडिको समय देखाउनु निकै खर्चिलो मानिन्छ । ‘टाइम लुप’ मा भने पात्र एकै समयमा घुमिरहन्छ । एकै दृश्यलाई पात्रको मनोविज्ञानअनुसार चित्रण गर्ने भएकाले त्यसमा खर्चभन्दा धेरै रचनात्मकता चाहिन्छ । चलचित्रमा माधव सिंह बस्नेतको भूमिकामा अभिनेता अनमोल केसी देखिएका छन् ।

अभिनेता केसीले यो प्रेम कथानक चलचित्र युवाका लागि आकर्षण बन्ने विश्वास व्यक्त गरे । उनले भने, “मेरो पात्रले गल्ती गरिरहँदा त्यो समयलाई पार गर्न सक्दैन । त्यही समयमा ऊ फर्की फर्की आइपुग्छ । त्यो एक किसिमको शक्ति हो । टाइम लुपका कारण चलचित्रको पात्रलाई प्रभाव पारेपछि यसले झनै रोचक बनाउँछ ।”

अभिनेता केसीले अधिकांश प्रेम कथानक चलचित्रमै अभिनय गरेका छन् । त्यसकारण यसपटक भिन्न देखाउन केसी समहत भएक हुन् । यो उनको दसौँ चलचित्र हो । “मैले अभिनय गर्न थालेको दश वर्ष पुगेको छ । यो मेरो लागि सुरुआत नै हो । आफ्नै विधामा रहेर अबको पुस्तालाई नयाँपन दिन खोजेका हौँ”, अभिनेता केसीले भने ।

उनको पछिल्लो चलचित्र ‘छड्के २’ असफल भएपछि सामाजिक सञ्जालमार्फत दर्शकसँग माफी माग्दै अभिनेता केसीले आगामी चलचित्रमार्फत पुनः सुरुआत हुने घोषणा गरेका थिए । यस चलचित्रमा उनले अभिनेत्री जसिता गुरुङसँग ‘स्क्रिन शेयर’ गरेका छन् । अभिनेत्री गुरुङले चलचित्रले युवापुस्ताको प्रेम, आकर्षण र समस्यालाई चित्रण गरेको बताए। “यो चलचित्रमा अहिलेको पुस्ताको सम्बन्धमा देखाइने विषय देखाइएको छ”, उनले भने, “यसले अभिभावकलाई नयाँ पुस्ता बुझ्न मद्दत पुग्ने छभने युवायुवतीलाई एकआपसको समस्या बुझ्न र सुल्झाउन मद्दत पुग्छ ।”

रोहित अधिकारीले निर्माण गरेको चलचित्रमा अभिनेता केसी र अभिनेत्री गुरुङसँगै रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ललगायतका कलाकारले अभिनय गरेका छन् । निर्माता अधिकारीले निर्माणका क्रममा कुनै सम्झौता नगरिएको बताए।

उनले भने, “अहिले डिजिटल प्लेटफर्मका कारण नेपाली दर्शक विश्वका चलचित्रसँग साक्षात्कार हुनुहुन्छ । त्यसकारण हामीले यसको निर्माणमा सम्झौता नगरेर दर्शकका लागि काल्पनिक संसार बनाउने कोसिस गरेका छौँ । नेपाली बजार, प्राविधिकलाई ध्यानमा राखेर हामीले एक कदम माथि उठेर काम गरेका छौँ ।”

चलचित्रको नरेन्द्र मैनालीले छायाङ्कन, सुरेन्द्र पौडेलले सम्पादन, अष्ट महर्जनले द्वन्द्व निर्देशन, रोमन बज्राचार्य र नरेन लिम्बूले सङ्गीत सिर्जना गरेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot