Logo

दक्षिण अफ्रिकाद्वारा गाजामा युद्धविरामको आदेश दिन र रफाहामथि इजराइली आक्रमण रोक्न अन्तर्राष्ट्रिय न्यायालयलाई आग्रह



द हेग (नेदरल्यान्ड्स), ४ जेठ । दक्षिण अफ्रिकाले अन्तर्राष्ट्रिय न्यायालय (आइसीजे) समक्ष इजराइललाई प्यालेस्टिनीहरू विरुद्धको नरसंहारको आरोप लगाएको मुद्दाअन्तर्गत रफाहमा भएको आक्रमण रोक्ने आदेश दिन आग्रह गरेको अल जजिराले बिहीबार रिपोर्ट गरेको छ ।

गाजामा इजराइलको आक्रमणलाई लिएर जनवरीमा मुद्दा दायर गरेको दक्षिण अफ्रिकाले दक्षिणी गाजा पट्टीको रफाह सहरमा आफ्नो आक्रमणलाई लिएर थप आपत्कालीन उपायहरू खोजिरहेको छ ।

यसले बिहीबार हेगको अदालतमा प्यालेस्टिनी जनताले ‘निरन्तर विनाश’ को सामना गरिरहेको र रफाहमा भएको आक्रमणले ‘गाजा पूर्णरूपमा नष्ट भएको अन्तिम खेलको हिस्सा’ बताएको छ ।

दक्षिण अफ्रिकी वकिल टेम्बेका एनग्कुकाइटोबीले ‘नरसंहार’ को परिणाम निम्त्याउन सक्ने ‘स्पष्ट चेतावनी’ हुँदाहुँदै पनि इजराइलले रफाहमा आक्रमण गर्न दबाब दिइरहेको बताए ।

सन् १९४९ को नरसंहार महासन्धि उल्लङ्घन गरेको दक्षिण अफ्रिकाको दाबीलाई आधारहीन भन्दै अस्वीकार गरेको इजराइलले शुक्रबार जवाफ दिने अल जजिराले जनाएको छ ।

अदालती सुनुवाइको केही मिनेटअघि इजराइली रक्षामन्त्री योव गालान्टले व्यापकरूपमा आलोचना गरिएको रफाह अपरेसन जारी रहने बताए ।

आइसीजेका न्यायाधीशहरूले पहिले नै गाजामा मानवीय पीडा सीमित गर्न अस्थायी उपायहरू जारी गर्दै इजराइललाई आवश्यक पहल गर्न आदेश दिएका थिए । ती प्रावधानमध्ये इजराइलले गाजामा गम्भीर भोकमरीबाट पीडित प्यालेस्टिनीहरूलाई ढिलाइ नगरी आधारभूत खाद्यान्न आपूर्ति सुनिश्चित गरेको थियो ।

यस महिना इजराइली सेनाले मानवीय सहायताका लागि महत्त्वपूर्ण प्रवेश विन्दु गाजा पट्टी र इजिप्टबीचको रफाह सीमा क्रसिङको प्यालेस्टिनी पक्ष कब्जा गरी बन्द गरेको हो । सहायता एजेन्सीहरूले इजराइलको यो कदमले उनीहरूको सहायता सञ्चालनमा उल्लेखनीय बाधा पुर्याएको चेतावनी दिएका छन् ।

“यो मानवीय सहायताका लागि गाजाको प्राथमिक केन्द्र हो, यदि रफाह पतन भयो भने भने गाजाले पनि पतन हुन्छ”, दक्षिण अफ्रिकाले अदालतमा लिखित निवेदनमा भन्यो ।

“मानवीय सहायतालाई अवरुद्ध गर्नु प्यालेस्टिनीहरूको जीवनको अन्त्यका रुपमा हेर्न सकिन्छ । भोकमरी अनिकालसम्म पुगेको छ”, वकिल आदिला हासिमले भने । रासस



प्रतिक्रिया दिनुहोस्