Logo

गृहमन्त्रीले बोल्छु भन्दा एकपटक कांग्रेसले सुनोस, संसदमा नेपाली कांग्रेस दुई वटा छ : महेश बर्तौला



काठमाडौं, ४ जेठ । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले गृहमन्त्री रवि लामिछानेले आफूमाथि आरोप लागेपछि एकपटक संसद्मा बोल्न पाउनुपर्ने बताएका छ्न । आजको संसद् बैठक बस्दै नबसी स्थगित् भएपछि संसद भवन परिसरमा मिडियासँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘अन्य तथ्य र प्रमाणहरुले दोषी करार गर्दै जाँदा र सम्बन्धित अड्डा अदालतमा मुद्दा पर्दै गएमा त्यसले प्रमाणित हुँदै गयो भने त्यो फरक पाटो हो, त्यतिखेर बेठिक भैराखेको छ भनेर हामी भन्दैनौं । राज्यका औपचारिक निकायमा अनुसन्धानको प्रक्रिया तथ्य र प्रमाणहरुले एक प्रकारले दोषी ठहर गर्छ भने हामी त्यही प्रकारले विषयलाई बुझ्दछौं । तर, अहिले विषय जसरी उठ्यो, प्रमुख प्रतिपक्षीले विषय उठाउनेबित्तिकै त्यसलाई आधार मानेर अपराधी हो भनेर स्विकार गर्ने स्थिति रहँदैन् । त्यसकारण यो संसदीय संस्कार पनि होईन।’

नेता बर्तौलाले गृहमन्त्री रवि लामिछानेले संसदमा आफूमाथि लागेको आरोपको सम्बन्धमा बोल्नको लागि पटक पटक समय माग गरेको स्मरण गराए । तर, कांग्रेसले बोल्न नदिएर अमर्यादित व्यवहार देखाएको उनको आरोप छ । उनले भने,‘उहाँ सांसद पनि हो । निर्वाचित जनप्रतिनिधि हो । गृहमन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ । एकपटक उहाँको कुरा नेपाली कांग्रेसले सुनोस । त्यसपछि नेपाली कांग्रेसको कुरा सुन्न सरकार तयार छ । सम्वादको माध्यमबाट अघि जान हामी तयार छौं । हामी ढोका खुला गरेर बसेका छौं ।’

उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको तौर तरिका अमर्यादित, असंसदीय र अराजनीतिक रहेको टिप्पणी गरे । उनले संसद्मा नेपाली कांग्रेस दुई वटा रहेको पनि गम्भीर आरोप लगाए । उनले भने,‘एउटा नेपाली कांग्रेसले संसदीय समितिमा गृहमन्त्रीलाई बोलाएर छलफल चलाउनुहुन्छ । अर्को नेपाली कांग्रेसले संसदमा आएर हुलहुज्जत गरेर नाराबाजी गरेर अशिष्ट व्यवहार देखाउनुहुन्छ । दुई वटा नेपाली कांग्रेस भएर पनि हामीले दुःख पाएका हौं ।’

उनले उपसभामुखको आसनमा आएर प्रमुख प्रतिपक्षी दल आएर बस्ने कुरा मिल्दै नमिल्ने सुनाए । कांग्रेसजस्तो लोकतन्त्रको मसिहा भन्ने दलले यी कुरामा ध्यान दिनुपर्नेमा उनको जोड छ । हिजो सदनमा भएको घट्नामा प्रमुख प्रतिपक्षी दलको दोष रहेको पनि उनले दाबी गरे । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्