Logo

‘लागुऔषध नियन्त्रणमा आमाहरु’ कार्यक्रम सञ्चालन



झापा, ५ जेठ । जिल्ला प्रहरी कार्यालय झापाले पछिल्लो दश महिनामा तीन सय ७२ लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लागुऔषध सेवनकर्ता, बिक्रेता र ओसारपसारमा संलग्नलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमध्ये २५ महिला समेत रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । लागुऔषध कारोबारमा संलग्नमध्ये स्वदेशी तीन सय २५ पुरुष र २५ महिला तथा १८ विदेशी पुरुष र चार विदेशी महिला रहेका छन् ।

सोही अवधिमा झापामा लागुऔषधका दुई सय ४० वटा मुद्दा दर्ता भएका छन् । जसमा खैरो हिरोइन एक हजार नौ सय ४४ ग्राम चार हजार छ सय ४० मिलिग्राम र २६ केजीभन्दा बढी गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

चालु आर्थिक वर्ष २०८०/०८१ को साउन महिनामा ३४ पुरुषसहित ३७ जना मानिस लागुऔषधसहित पक्राउ परेका थिए । त्यस्तै भदौ महिनामा ४२ जना मानिससहित १० केजी एक सय सात ग्राम गाँजा र चार सय ५५ ग्राम हिरोइन प्रहरीले पक्राउ गरेको थियो ।

त्यस्तै असोज महिनामा ४१ जना मानिससहित एक केजी छ सय ७० ग्राम गाँजा र एक सय ७६ ग्राम चार सय ४० मिलिग्राम हिरोइन, कात्तिक महिनामा लागुऔषधका १० वटा मुद्दा दर्ता हुँदा १७ जना मानिस पक्राउ परेका थिए भने ३२ ग्राम सात सय मिलिग्राम हिरोइन प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

यसैगरी मङ्सिर महिनामा १२ जना पुरुष, तीन महिला स्वदेशी र दुई पुरुष विदेशीसहित १७ जना मानिस पक्राउ परेका थिए । ११ वटा लागुऔषधका मुद्दा दर्ता हुँदा प्रहरीले ७० ग्राम चार सय ७० मिलिग्राम हिरोइन बरामद गरेको थियो । पुस महिनामा १४ जना मानिस पक्राउ र नौ वटा लागुऔषधका मुद्दा दर्ता भएका छन् भने एक सय ६२ ग्राम दुई सय ७० मिलिग्राम हिरोइन बरामद भएको छ ।

माघ महिनामा ३५ जना पक्राउ परे भने २६ वटा मुद्दा दर्ता भएका छन् । माघ महिनामा दुई सय ५० ग्राम गाँजा र ३९ ग्राम तीन सय २० मिलिग्राम हिरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्कमा उल्लेख छ ।

फागुन महिनामा सबैभन्दा बढी लागुऔषध कारोबारी पक्राउ परेका छन् । यो महिना ५१ स्वदेशी पुरुष, सात स्वदेशी महिला, दुई विदेशी पुरुष र एक विदेशी महिला गरी कूल ६१ जना मानिस पक्राउ परेको प्रहरीले जनाएको छ । यो महिनामा जिल्ला प्रहरी कार्यालय झापामा ३९ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता भए । प्रहरीले यो महिना ७० ग्राम पाँच सय मिलिग्राम गाँजा र तीन सय ३५ ग्राम नौ सय ९० मिलिग्राम खैरो हिरोइन प्रहरीले फेला पारेको थियो ।

त्यस्तै चैत महिनामा प्रहरीले ५५ स्वदेशी पुरुष, दुई स्वदेशी महिला र दुई विदेशी पुरुष गरी कूल ५९ जना मानिसलाई लागुऔषध कारोबारीका रुपमा पक्राउ गर्‍यो । चैत महिनामा लागुऔषधका ३७ वटा मुद्दा दर्ता भए । यो महिना प्रहरीले एक केजी चार सय ७९ ग्राम चार सय मिलिग्राम गाँजा बरामद गरेको थियो ।

त्यस्तै वैशाख महिनामा ४२ जना स्वदेशी पुरुष, दुई स्वदेशी महिला, पाँच विदेशी पुरुष गरी कूल ४९ जना मानिस पक्राउ परे । वैशाखमा लागुऔषधका २९ वटा मुद्दा दर्ता भएका छन् । लागुऔषध कारोबारमा संलग्नलाई पक्राउ गरी प्रहरीले गरेको अनुसन्धानका क्रममा जिल्लामा हुने आपराधिक गतिविधिमा संलग्नमध्ये ७० देखि ९० प्रतिशतसम्म उनीहरुको हात रहने खुलेको छ ।

लागुऔषध नियन्त्रणका लागि प्रहरीले दिनहुँजसो सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आए पनि भारतको पश्चिम बङ्गाल र विहारसँग झण्डै एक सय ४४ किलोमिटर क्षेत्र खुला सीमा भएका कारण लागुऔषध नियन्त्रणमा प्रहरीलाई चुनौती थपिएको हो ।

दिनानुदिन लागुऔषध प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको पाइएपछि जिल्ला प्रहरी कार्यालय झापाले अहिले लागुऔषध नियन्त्रणमा आमाहरु नामक कार्यक्रम सञ्चालन गरेको प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए । अहिले जिल्लाका १५ वटै पालिकामा यो कार्यक्रम सञ्चालनमा रहेको छ । स्थानीय तहसँग साझेदारी गर्दै प्रहरीले टोल टोलमा पुगेर लागुऔषध नियन्त्रणमा आमाहरु नामक कार्यक्रम सञ्चालन गरिरहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्