Logo

कट्टेलचोक–आमाडाँडा सडक कालोपत्र



गोरखा, जेठ ५ । गोरखा नगरपालिकास्थित कट्टेलचोक-कट्टेलडाँडा हुँदै आमाडाँडा जोड्ने सडकखण्ड कालोपत्र गर्ने काम सम्पन्न भएको छ । ट्रयाक खुलेको करिब २६ वर्षपछि सो सडकखण्ड कालोपत्र गरिएको हो ।

गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयले रु चार करोड ११ लाख ५६ हजारको लागतमा कट्टेलचोक–आमाडाँडा सडकखण्ड कालोपत्र गरिएको पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेशप्रसाद सुवेदीले जानकारी दिए । गत वैशाखमा सडक कालोपत्र थालिएको हो ।

गोरखा नगरपालिका–८ र ९ जोड्ने उक्त सडकखण्ड २०५५ सालमा निर्माण गरिएको थियो । सडक कालोपत्र गरिएपछि जनजीवन सहज भएको स्थानीय शान्ता कट्टेलले बताए। “सडक कालोपत्र नहुँदा वर्षौंदेखि कच्ची सडकमा बर्खामा हिलो र हिउँदमा धुलोले हैरानी खेप्दै आएका थियौँ”, उनले भने । पक्की सडक निर्माणपछि कृषिउपज बजारसम्म पुर्‍याउन सहज भएको छ । रासस



प्रतिक्रिया दिनुहोस्