Logo

देउवा क्याम्पमा उपेन्द्रको इन्ट्री भएपछि सिके राउत एमाले–माओवादी क्याम्पमा



काठमाडौं, ६ जेठ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत विपक्षी दलहरुको मोर्चामा सहभागी नहुने निश्कर्षमा पुगेका छन् । मधेश प्रदेश सरकारको नेतृत्व लिनेगरि राउतले एमाले–माओवादी सम्मिलित सत्ता गठबन्धन रोज्न लागेका छन् । राउत एकपटक मधेश प्रदेश सरकारको नेतृत्व आफ्नो दललाई दिलाउन रणनीति रुपमा सक्रिय भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले त केन्द्रको गठबन्धनमा पनि सरिक हुन आग्रह गरेका छन् । जवाफमा राउतले मधेश प्रदेश सरकारको नेतृत्व पाए केन्द्र सरकारमा पनि सहभागिता जनाउने वचन दिएको बालुवाटार स्रोतले जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवसँग सहकार्यको हात अघि बढाएपछि राउत विपक्षी गठबन्धनमा सामेल नभएका हुन् ।

मधेश प्रदेशमा उपेन्द्र र सिकेबीच नै प्रतिष्पर्धा र राजनीतिक लडाईं देखिएको छ । यी दुवै नेता एक अर्काभन्दा मधेशमा वर्चश्वशाली देखाउने होडमा छन् । प्रधानमन्त्री दाहालले भोलि जेठ ७ गते विश्वासको मत लिने कार्यतालिका छ । राउत नेतृत्वको जनमतले पनि दाहाललाई विश्वासको मत दिनेगरि तयारी थालेको छ । त्यसअघि मधेश प्रदेश सरकार गठनको विषयमा केन्द्रित रहेर राउतले प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग एकपटक छलफल गर्ने बुझिएको छ ।

सम्भवतः आजै साँझ बालुवाटारमा राउतले प्रधानमन्त्री दाहालसँग छलफल गर्नेछन् । राउतलाई आफ्नो गठबन्धनमा तान्नको लागि कांग्रेस सभापति देउवाबाट पटक पटक आग्रह गरिएको छ । तर, राउतले उपेन्द्र यादवसँगै आफू कांग्रेसको गठबन्धनमा सामेल नहुने जवाफ पठाएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्