Logo

एमालेले सत्ता गठबन्धनको विकल्प नखोज्ने



काठमाडौं, ६ जेठ । सत्तारू नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सत्ता गठबन्धनलाई २०८४ सालसम्म निरन्तरता दिने बताएका छन् । प्रेस चौतारी नेपाल दाङले आज (आइतबार) आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन् ।

उनले भने,‘एमाले गठबन्धनको विकल्प खोज्ने पक्षमा छैन । वर्तमान सत्ता समीकरणलार्ई २०८४ को निर्वाचनसम्म निरन्तरता दिने पक्षमा हामी छौं ।’ उनले वर्तमान सत्ता समीकरणको भविष्य प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यशैलीमा भरपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्पका आधारमा काम गरूञ्जेल एमाले गठबन्धनकै पक्षमा रहने बताउँदै महासचिव पोखरेलले सत्ता बाहिर रहनुको छटपटीले काँग्रेस नेताहरूमा देखिएको टिप्पणी गरे ।

विगतमा कम्युनिष्ट एकता बचाउन नसक्नु गम्भीर त्रुटी भएको बताउँदै महासचिव पोखरेलले एमालेको प्राथमिकता वर्तमान सत्ता समीकरणको निरन्तरता र बलियो कम्युनिष्ट शक्ति निर्माण नै रहेको सुनाए । उनले भने,‘एमालेको प्राथमिकता वर्तमान सत्ता समीकरणको निरन्तरता हो । बलियो कम्युनिष्ट शक्ति निर्माण हो, पार्टी एकता र २०८४ को निर्वाचनका लागि नयाँ सत्ता समीकरण निर्माण भएको नभई मुलुकलाई सङ्कटमुक्त बनाउनका लागि हो । कम्युनिष्ट शक्तिका बीचमा सहकार्यको थालनी गर्नु मात्रै हो ।’

अभिव्यक्ति स्वतन्त्रता र वाकस्वतन्त्रताका लामो सङ्घर्ष भएको बताउँदै महासचिव पोखरेलले संसदमा गृहमन्त्रीलाई बोल्नमा रोक लगाउनु कांग्रेसको पश्चगामी सोच भएको र यो प्रयत्न परिवर्तनका लागि सङ्घर्ष गरेको पार्टी नेपाली कांग्रेसका लागि शोभनीय होइन भने । उनले भने–‘गृहमन्त्रीले आफूमाथि लागेका आरोपबारे सदनमा बोल्न पाउनुपर्छ । अनि उहाँका नाममा मात्रै होइन, सिङ्गो सहकारी समस्याका बारेमा छानबिन गरिनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्