Logo

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान



झापा, ६ जेठ । जल तथा मौसम विज्ञान विभागले झापाको दुई ठूला नदी बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान गरेको छ । पूर्व–पश्चिम राजमार्गको पुलमा जडान गरिएका ती उपकरणले बाढी आउनु पहिले जानकारी दिने विभागका प्रवक्ता सुनिल पोखरेलले बताए ।

यसअघि झापाको कनकाई नदीमा मात्र यस्तो बाढी मापन तथा सूचना प्रणाली सञ्चालनमा थियो । नदी जोखिम न्यूनीकरण आयोजनामार्फत पूर्व–पश्चिम राजमार्गमा पर्ने नदीका पुलमाथि बाढी मापन उपकरण जडान धमाधम भइरहेको उनले बताने । मोरङ जिल्लाको बक्राहा नदीमा पनि यस्तै प्रणाली जडान गरिएको छ ।

“उपकरण जडान गर्ने काम भइसक्यो,” उनले भने, “प्रणालीमार्फत आउने जानकारीलाई विभागको वेबसाइटमा राख्ने र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पत्राचार गर्ने काम गर्नेछौं ।” झापामा कनकाई, बिरिङ, निन्दा, मेची, रतुवा र मावा नदीको बाढीले बर्सेनी ठूलो क्षति पु¥याउँदै आएको छ । कनकाईमा जडान गरिएको उपकरणले दिने जानकारीका आधारमा नदी आसपासका बासिन्दालाई सतर्कताका लागि मोबाइल एसएमएस सन्देश पठाउने गरिएको छ ।

“अब बिरिङ र निन्दा नदीको आसपास तटीय क्षेत्रमा बसोबास गर्दै आएका बासिन्दालाई नदीको जलसतह बढेको जानकारी एसएमएसबाट बेलैमा दिने व्यवस्था गर्दैछौंँ,” उनले भने, “यसो भएमा बाढीबाट हुने जनधनको क्षति न्यूनीकरणमा ठूलो सघाउ पुग्छ । जोखिममा रहेका समुदाय सुरक्षित हुन्छन् ।” विभागले राजमार्गका मावा, रतुवा नदीमा समेत सो प्रणाली जडान गरिरहेको जनाएको छ ।

प्रणालीमा जडित स्वचालित उपकरणले वर्षा सुरु भएपछि १० मिनेटको अन्तरमा नदीमा बगिरहेको जलस्तरको बारेमा काठमाडौँ र झापास्थित सूचना केन्द्रमा जानकारी पठाउने गर्छ । त्यही जानकारीको विश्लेषण गरेर बाढी आउने सम्भावना बारे नदी तटीय क्षेत्रमा बसोबास गरेका सर्वसाधारणलाई सतर्कताको सन्देश प्रेषण गरिने उनले जानकारी दिए ।

बिरिङका लागि बुधबारेमा र निन्दाका लागि बाहुनडाँगीमा वर्षामापन उपकरण राखिएको छ । ती उपकरणको सहायताले नदीको मुहानमा कति वर्षा भइरहेको छ भन्ने जानकारी सङ्कलन हुनेछ । नदीको पानीको वहाब र वर्षाको मात्रा जिल्ला प्रशासन कार्यालय झापामा राखिएको सूचना केन्द्रबाट हेर्न सकिने पोखरेलले बताए ।

नेपाल टेलिकमको सिम प्रयोग गर्ने नदी तटीय क्षेत्रका बासिन्दालाईे मोबाइलमा सन्देश पठाइने आयोजनाले जनाएको छ । नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले बाढीमापन तथा वर्षामापन प्रणालीले बाढीका कारण उत्पन्न हुने विपत् व्यवस्थापनमा महत्वपूर्ण सहयोग पु¥याउने बताए । उनले विगत लामो समयदेखि कनकाई नदीमा यो प्रणालीमार्फत बाढीको क्षति न्यूनीकरण भइरहेको जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot