Logo

चौतारी संरक्षणमा युवापुस्ता चासो



गलेश्वर (म्याग्दी), ६ जेठ । म्याग्दीमा पछिल्लो समय चौतारी निर्माण र संरक्षणमा युवापुस्ताको चासो बढ्दै गएपछि पाको पुस्तामा खुसियाली छाएको छ ।

जिल्लाका बेनी नगरपालिकासहित मङ्गला, मालिका, अन्नपूर्ण, रघुगङ्गा र धौलागिरि गाउँपालिकाका युवाले यहाँ रहेका पुराना चौतारीको संरक्षणका साथै नयाँ चौतारी निर्माण गर्न थालेपछि पाकोपुस्ता पुरानो विरासतको संरक्षण हुन लागेको भन्दै खुसी भएका हुन् ।

चौतारी संरक्षण र निर्माण अभियानमा यहाँका युवाका साथै जनप्रतिनिधि पनि खटिन थालेका छन् । कतिपय वडा कार्यालयले बजेट नै पारेर आफ्नो क्षेत्रमा रहेका पुराना चौतारीको पुनःनिर्माण तथा आवश्यक ठाउँमा नयाँ चौतारी बनाउने काम गरिरहेका छन् ।

बेनी–६ अर्थुङ्गे, वडा नं ७ बेनी, वडा नं २ ज्यामरुककोट, वडा नं १ रत्नेचौरसहित मङ्गला, मालिका, धौलागिरि, रघुगङ्गाा र अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधिहरु चौतारी निर्माण र संरक्षण अभियानमा जुटेका स्थानीयले बताएका छन् ।

मङ्गला–२ खुम्लियामा सातदशक अगाडि बनेको चौतारी पुनःनिर्माण तथा संरक्षण अभियानमा स्थानीय खुम्लिया युवा क्लव जुटेको छ । बेनी–दरबाङ सडकअन्तर्गत सिम–कुहुँ–टोड्के जोड्ने खण्डको खुम्लियामा रहेको पिपलको रूख सुकेपछि प्रयोगविहीन बनेको चौतारीलाई नयाँ स्वरुपमा मर्मत गरी वरपीपल रोपण गरिने क्लबका उपाध्यक्ष तेजेन्द्र आचार्यले बताए ।

तत्कालीन समयमा भरिया र बटुवा, घाँसदाउराका लागि वनजङ्गलमा जाने स्थानीयवासीलाई लक्षित गरी स्वर्गीय टेकबहादुर घर्ती मगरद्वारा निर्मित उक्त चौतारी संरक्षण अभावले जीर्ण बनेको थियो । सडक सञ्जालको विस्तार र उचित संरक्षणको अभावका कारण पीपल सुकेपछि चौतारी जीर्ण बनेको उनको भनाइ छ ।

“चौतारीको पुरानो इतिहास छ, कुनै समय गाउँघरमा भेला, बैठक, चौतारीमै बस्दथे । अब सधैँ प्रयोग हुने गरी पुनःनिर्माण गर्छौं”, उपाध्यक्ष आचार्यले भने । धार्मिक मान्यता र पर्यावरणीय शुद्धतासँग सम्बन्धित वरपीपल रोपेर बस्न मिल्ने गरी चौतारी बनाइने भन्दै खानेपानीको धारा निर्माणका लागि गाउँपालिकासहित अन्य सङ्घसंस्थासँग सहयोग जुटाइने उनले बताए ।

तत्कालीन समयमा टोड्केमा रहेको स्वर्गाद्वारीको शाखा आश्रमबाट पैदल हिँडेर पश्चिम म्याग्दी हुँदै बागलुङबाट प्यूठानको स्वर्गद्वारीमा जाने धार्मिक भक्तजनले उक्त चौतारी आसपासमा भोजन गर्ने स्थल बनाएर बस्ने गरेका स्थानीय बुढापाकाको भनाइ छ ।

चौतारी आसपासमा होडिङ बोर्ड राखेर दाताको सहयोगका साथै धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने योजना रहेको उपाध्यक्ष आचार्यले बताए ।

चौतारी बनाएका दाताका आफन्त झलकबहादुर घर्तीमगरले पुर्खाले बनाएको चौतारी पुनःनिर्माण गरी संरक्षण गर्न आफ्नोतर्फबाट सहयोग हुने बताए । चौतारी नजिकैको डिलबाट म्याग्दी नदी, ताराखेत, बरङ्जाको सातविसेलगायत बस्ती देखिन्छ ।

दुई दशकअघिसम्म भरिया र बटुवाले भरिभराउ हुने चौतारी जीर्ण हुन थालेपछि स्थानीय तह र समुदाय दुवै चौतारी संरक्षणमा लागेका हुन् । “कुनै समय गाउँघरमा भेला, बैठक, कचहरी, सभा चौतारीमै बस्ने गरिन्थ्यो । पछिल्लो समय सुविधायुक्त सामुदायिक भवन बन्न थालेपछि भवनको हलमा नै बैठक तथा सभा हुन थालेपछि गाउँघरका चौतारी प्रयोगविहीन हुँदै गएका छन्”, बेनी–२ का ७९ वर्षीय टेकबहादुर कार्कीले भने ।

पहिला धर्मका लागि चौतारी चिन्ने, वर र पीपलका रुख रोप्ने, पानी धारा बनाउने, पोखरी खन्ने चलन थियो । सडक यातायातको विकास र समाजमा आएको परिवर्तनसँगै चौताराको प्रयोग घटेको छ । सार्वजनिक जग्गाजमिन र खाली ठाउँ नभएको म्याग्दी सदरमुकाम बेनी बजारमा रहेका परम्परागत चौतारीलाई संरक्षण र व्यवस्थित गर्न जनप्रतिनिधिले चासो दिएका छन् ।

बेनी–७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले बजारवासीलाई शीतलता र बटुवालाई विश्रामका लागि पुराना चौतारीलाई व्यवस्थित गरेर प्रतीक्षालयमा रुपान्तरण गर्न थालिएको बताए । “अहिलेका प्रतीक्षालय जस्तै पहिलेका चौतारीको महत्व छ”, उनले भने, “धार्मिक, जैविक विविधताको संरक्षण र विश्रामको सुविधाका लागि जीर्ण चौतारीको पुनःनिर्माण गर्न थालेका हौँ ।”

बेनी–७ मा १८ चौतारी र एउटा पोखरी छन् । चौतारी मर्मतका लागि आर्थिक वर्ष २०७९÷८० मा नगरपालिकाले रु चार लाख ५० हजार विनियोजन गरेको थियो । सो बजेटबाट नगरपालिकाको प्रवेशद्वार, बेनी सामुदायिक र जिल्ला प्रशासन कार्यालय अगाडिको चौतारी संरक्षण गर्न थालिएको नगर कार्यालयले जनाएको छ ।

गत आवमा विनियोजन भएको एक लाख २७ हजार बजेटबाट मालपोत कार्यालय अगाडिको चौतारी मर्मत गरिएको थियो । सो चौतारीको नजिकै बेनी बजार अवस्थित वडा नं ७ र ८ बाहेकका वडाको पहिचान झल्कने होडिङ बोर्ड राख्ने तयारी भएको छ ।

ज्यामरुककोटमा रहेका पाँच वटा चौतारीको पनि पुनःनिर्माण गरिएको बेनी–२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताए । रसास



प्रतिक्रिया दिनुहोस्