Logo

घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ



मुग्लिन (चितवन), ७ जेठ । चितवनको इच्छाकामना गाउँपालिका–६ मा अवस्थित सोरबिस्ना गाउँका गुरुङहरु लोपोन्मुख अवस्थामा पुगेको सती घाँटु नाँच संरक्षणमा जुटेका छन् ।

गाउँपालिकाका अन्य गुरुङ बस्तीहरुमा घाटु नचाउँन छाडे पनि यहाँका स्थानीय त्यसको संरक्षणमा लागेका छन् । स्थानीय सुजन गुरुङले पहिले इच्छाकामना गाउँपालिकाका अधिकांश गुरुङ गाउँमा घाँटु नचाइने गरिए पनि पछिल्लो समय यो नाच हराउने अवस्थामा पुगेको बताए । यद्दपि इच्छाकामनाको स्वरबिस्ना गाउँमा भने यो नाँचलाई निरन्तरता दिइएको उनले बताए ।

उनका अनुसार यस वर्ष पनि स्थानीय पन्थदेवी आमा समूहको आयोजनामा यही जेठ ११ गतेदेखि सति घाँटु नाच नचाइँदै छ । गुरुङ्ले घाँटु गुरुआमा मङ्गलीमाया गुरुङको नेतृत्वमा ६ जना गुरुआमाहरुले घाँटु गीत गाउने र नौ जना कन्यालाई घाँटु नचाइने जानकारी दिए ।

गुरुङ संस्कृतिअनुसार माघ महिनामा बसन्तपञ्चमीबाट सुरू भएको घाँटु नाँच वैशाख पूर्णिमापछिको पञ्चमीमा समापन गरिन्छ । एक दशक अघिसम्म इच्छाकामनाका अधिकांश गुरुङ गाउँमा नचाइने घाँटु पुस्तान्तरण हुन नसक्दा हराउँदै गएको स्थानीय चित्रबहादुर गुरुङले बताए । याकराङ, ढुङ्ग्रे काटीश्वरालगायतका गाउँमा केही वर्ष अघिसम्म घाँटु नाँच नचाइने गरे पनि निरन्तरता नपाएका उनको भनाइ छ । “यहीले गुरुङ बाहुल्य गाउँमा घाँटु नाँचका लागि गुरु आमा भेटिदैँनन्, पछिल्लो समय बसाइँसराइ र पुस्तान्तरण नहँुदा समस्या आएको हो । अब सय विषयमा सचेत नहुने हो भने कसैले पनि घाँटु नाच देख्न पाउने छैनन्”, उनले चिन्ता जाहेर गरे ।

घाँटु नाँच सती र बाह्रमासे गरी दुई प्रकारको हुन्छ । सति श्रीपञ्चमीमा सुरू भई वैशाख पूर्णिमामा अन्त्य गरिन्छ भने बाह्रमासे जुनबेला पनि नाच्ने गरिन्छ । गुरुङ समुदायको ऐतिहासिक घटनाक्रमसँग जोडिएका घाँटु नृत्य ठाउँअनुसार फरक–फरक पाइए पनि सबै ठाउँमा नाचिने घाटुको कथा भने एउटै हुने घाटु गुरु बताउँछन् ।

उनीहरूले दिएको जनाकारी अनुसार सत्रौँ सताब्दीदेखि घाँटु नृत्यको प्रारम्भ भएको मानिन्छ । यस नृत्यमा रजश्वला नभएका दुईजना कन्यालाई स्थानीय वेषभूषामा सजाइ मध्ययुगिन राजा परशुराम र रानी आम्पावतीको प्रतीकका रूपमा घाँटु नृत्य प्रारम्भ गरिन्छ । लमजुङ, कास्कीलगायतका जिल्लामा दुई कन्यालाई मात्र नचाइने गरिए पनि तनहुँ, चितवन, गोरखालगायतका स्थानमा तीन कन्या वा विजोर सङ्ख्या पारी जति पनि कन्यालाई समावेश गरेर घाँटु नचाइने गरिन्छ ।

पुरानो सांस्कृतिक नाँच भए पनि नयाँ पुस्ताको चासो नहुनु र पुरानो पुस्ताबाट हस्तान्तरणका लागि पहल नहुनुजस्ता कारणले लोपहँुदै गएको नाच संरक्षणका लागि आफूहरुका लागिपरेको स्थानीय सुजन गुरुङले बताए । घाँटु नृत्यको गीतमा मानिसको जीवनशैली, जन्म, कर्म, शङ्गार, बिहेवारी, शिकार, माछा मार्ने, खेतीपाती तथा युद्धबारे व्याख्या तथा अभिनय गर्ने गरिन्छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot