Logo

गगन थापाको अडान : छानबिन समिति बनेकै दिन सूर्यदर्शन सहकारी र गोरखा मिडियाको फाइल खोल्छ भन्ने हाम्रो कुरा हो



काठमाडौं, ६ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउने सहमति भएपनि समितिको कार्यदेश के/कस्तो हुने भन्नेबारे सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलबीच ठोस सहमति नभएको स्पष्ट पारेका छन् । सिंहदरबारमा अनौपचारिक कुराकानीमा थापाले सत्ता पक्ष आफूहरुको मागप्रति सकारात्मक नबनेको प्रतिक्रिया दिए ।

उनले भने,‘समितिको टिओरबारे बाहिर सहमति भयो भन्ने हल्ला छ । तर, यसमा कुनै सत्यता छैन् । सत्तापक्षका साथीहरु त हामीहरूको मागको नजिक पनि आउनुभएको छैन् । हाम्रो लुकाउनुपर्न‍े कुनै कुरै छैन । संसदीय समिति बनेकै दिन सूर्यदर्शन सहकारीको हेर्छ । गोरखा मिडियाको फाइल खोल्छ भन्ने हाम्रो कुरा हो । यसबाट हामी हलचल भएका छैनौँ । उहाँहरू नजिकसम्म पनि आउनुभएको छैन ।’

टिओर बनाउने कार्यदलमा रहेका कांग्रेस नेताहरु ज्ञानेन्द्रबहादुर कार्की र जीवन परियारलाई आफनो अडानमा यथावत रहन थापाले सुझाएका छन् । वार्तास्थलबाट केहीबेरको लागि कांग्रेस नेताहरु कांग्रेस संसदीय दलको कार्यालयमा आएका थिए । जहाँ महामन्त्री थापा र प्रमुख सचेतक रमेश लेखक थिए ।

थापा र लेखकसँगको सल्लाहपछि कार्की र परियार अहिले कार्यदलको बैठकमा सरिक छन् । तर, थापा भने आफ्नो बिद्युतीय कार बिवाइडीमा चढेर सिंहदरबारबाट बाहिरिएका छन् । उनी संसद् भवनको लागि हिँडेको बताईएको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्