Logo

‘तालिम व्यवस्थापन सिंहावलोकन’ पुस्तक विमोचन



पाटन (ललितपुर), ७ जेठ । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक नयनबहादुर खड्काद्वारा लिखित ‘तालिम व्यवस्थापन सिंहावलोकन’ पुस्तक विमोचन गरिएको छ ।

८० वर्षीय खड्काद्वारा लिखित उक्त पुस्तकको विमोचन स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा राजेन्द्र सुवालले गरे ।

सुवालले स्थानीय विकास प्रतिष्ठानमा अधिकृतदेखि कार्यकारी निर्देशकसम्मको पदमा रहेर कार्यसम्पादन गरेका अग्रज तथा बौद्धिक व्यक्तित्वबाट लिखित पुस्तकले नयाँ पुस्तामा तालिमसम्बन्धी ज्ञान, सीप र क्षमताको अभिवृद्धिमा महत्त्वपूर्ण सहयोग पु¥याउने बताए ।

“यो किताब अत्यन्तै महत्त्वपूर्ण तथा उपयोगी छ, यसले तालिम व्यवस्थापनका क्षेत्रमा प्रभावकारी भूमिका खेल्नेमा कुनै द्विविधा छैन”, उनले भने ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)का सेवानिवृत विशिष्ट कर्मचारी डा दिनेश पन्तले पुस्तकमार्फत नयाँ पुस्तामा ज्ञानको हस्तान्तरण भएको बताए । “यो उमेरमा पनि उहाँले आफ्नो ज्ञान, सीप र अनुभवका आधारमा प्रकाशनमा ल्याउनु ठूलो कुरा हो । यो तेस्रो कृतिमा समेटिएको अनुभवलाई तालिम सञ्चालनमा उपयोगमा ल्याउन सक्दा ज्यादै उपयोगी हुनेछ”, उनले भने ।

विसं २०३२ देखि २०६६ सालसम्म स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको सेवामा योगदान गरेका नयनबहादुर खड्काले अधिकृतदेखि कार्यकारी निर्देशकसम्मको जिम्मेवारीमा रहेर कार्यसम्पादन गरेका थिए । सेवा अवधिमा ७६ जिल्लामा पुगेको बताएका खड्काले पहिलो पटक सुदूरपश्चिमको विकासको चित्रण र दोस्रो पटक न्यायिक समिति एवं मेलमिलापकर्ता स्रोत पुस्तिका प्रकाशन गरेका थिए। यो पुस्तकको प्रकाशन पैरवी प्रकाशनले गरेको हो । रासस



प्रतिक्रिया दिनुहोस्