Logo

अमरेशकुमार सिंहको टिप्पणी : संसंद् डिबेट र डिस्कसनको थलो हो, लडाईं गर्ने भए टुँडिखेलमा गर्दा हुन्छ (भिडिओसहित)



काठमाडौं, ७ जेठ । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले संसदीय व्यवस्थाको हिमायती पार्टी नै नेपाली कांग्रेस भएकोले आज संसद्मा भएको गतिविधि शोभनीय नभएको टिप्पणी गरेका छन् । उनले ढिलो÷चाँडो अहिलेको गतिरोध अन्त्य हुने विश्वास व्यक्त गरे ।

प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत प्राप्त गरेपछि संसद् भवनबाट बाहिरिने क्रममा सांसद् सिंहले यस्तो प्रतिक्रिया दिएका ह्ुन् । उनले भने,‘नेपाली कांग्रेस सहमतिको बाटोमा आउँछ भन्ने मेरो विश्वास थियो । सहमति, सहकार्य र एकता कांग्रेसको चरित्र थियो । हिजो गिरिजाबाबुले यही मूल मन्त्र लिनुभएको थियो । माओवादीलाई शान्त्रि प्रक्रियामा ल्याउँदा होस वा संविधानसभाबाट संविधान जारी गर्दा । तर, अहिले कांग्रेसमा केही व्यक्तिमा उच्छृंखलता देखियो । तर, कांग्रेसमा सहमति, सहकार्य र एकताको पक्षमा उभिने नेताहरुको पँक्ति ठूलो छ । कांग्रेसले आफ्नै सिद्धान्तलाई बञ्चरोले हान्दैन् भन्ने मेरो विश्वास छ । आज जे भएको छ, त्यो नहुनुपर्ने थियो । संसद् त डिबेट र डिस्कसनको थलो हो । लडाईंको लागि त टुँडिखेलमा गर्दा हुन्थ्यो ।’

उनले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन दुवै पक्ष तयार रहेको सुनाउँदै अब एक÷दुई दिनभित्र समितिको टिओआर बन्नेपनि दाबी गरे । उनले भने,‘अबको समाधानको कुरा गर्दा, दुवै पक्ष संसदीय समिति बनाउन सहमति छन् । एक÷दुई दिनभित्र टिओआर बन्छ । सहमति हुन्छ भन्ने मलाई विश्वास छ ।’



प्रतिक्रिया दिनुहोस्