Logo

व्यास आगलागीः पीडितलाई सहयोगका लागि आग्रह



दमौली (तनहुँ), ७ जेठ । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ निवासी बादल आले मगर मस्त निन्द्रामा थिए। आज बिहान १ः२० बजे मोबाइल बज्यो, मध्यरातमा फोन आएपछि केही भयो की भनेर उठाउँदै गर्दा दमौलीका मोहम्मद अजिजले भने, “दाई पसलमा आगलागी भयो । छिट्टै आउनुपर्‍यो ।”

व्यास नगरपालिका–३ मुख्यचोकमा रहेको पसलमा पुग्दा दनदनी जलिरहेको थियो । त्यो दृश्य हेर्नुबाहेक अर्को उपाय रहेन । उनले आँखै अगाडि पसलका सबै सामान जलेर खरानी भएका हेर्नुप¥यो ।

आज बिहान १२ः४० देखि सुरु भएको आगलागीले जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको सो पसलसँगै २० भन्दा बढी पसल जले । त्यहाँ आइसक्रिम, मोबाइल, फलफूललगायतका पसल रहेका थिए ।

कोरोना र आर्थिक सङ्कटपछि बल्ल तङ्ग्रिदै गरेको व्यवसाय आगोले खरानी भएपछि आलेकोे वर्षौदेखिको लगानीसमेत जलेको छ । उनले भने, “कोरोना कहर र आर्थिक सङ्कटले व्यवसायी मारमा थियौँ, त्यसबाट उठ्न खोजिरहेका बेला फेरि प्रकृतिले ठग्यो । पसलमा रहेका करिब रु एक करोडका र अन्य सामग्री जलेर सबै खरानी भए । बाँकी केही रहेन ।”

व्यवसाय गरेरै घरपरिवार चलाउँदै आएको बताउँदै आलेले उचित क्षतिपूर्तिका लागि सम्बन्धित निकायसँग आग्रह गरे । उनले भने, “व्यवसाय नै मुख्य पेशा हो । यही पेशाबाट घरपरिवार चलेको थियो । त्यही खरानी भएपछि अब के गरेर खानु !”

सोही ठाउँमा पसल सञ्चालन गर्दै आएका कपिल पौडेलले आगलागीबाट सबै सामग्री जलेर नष्ट भएको बताए । उनले भने, “कसरी आगलागी भयो, केही थाहा पाउन सकिएन । सामान झिक्ने समय नै भएन ।”

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले विद्युत् चुहिएर आगलागी भएको र क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिए ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँले आगलागीका पीडितलाई उचित क्षतिपूर्तिका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ । जिल्ला संयोजक विश्व बास्तोलाले आज प्रेस विज्ञप्ती जारी गरी पीडितलाई उचित राहतका लागि आग्रह गरे ।

तनहुँ उद्योग वाणिज्य सङ्घ अध्यक्ष वैकुण्ठनाथ मिश्र र र तनहुँ उद्योग वाणिज्य सङ्घ बजार इकाइ सभापति सुकनारायण मल्लले विज्ञप्ति जारी गरी आगलागीबाट नष्ट भएका संरचना पुनर्निर्माण गरी व्यवसाय सञ्चालनमा सहयोग गर्न आग्रह गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्