Logo

गर्मीले जनजीवन कष्टकर



सुदूरपश्चिम, ७ जेठ । पछिल्ला केही दिनदेखि बढेको गर्मीले कैलालीसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ । गर्मीका कारण दैनिक काम गर्न र हिँड्डुल गर्न कठिन भएको छ । धनगढीको अधिकतम तापक्रम ४२ डिग्रिसेल्सियस पुगेको छ । गर्मीले मजदुर वर्ग, वृद्धवृद्धा र स्कुले बालबालिका बढी प्रभवित भएका छन् । गर्मी बढेसँगै बजार क्षेत्र दिउँसो सुनसान हुन थालेको छ ।

“गर्मी बढेसँगै दिनमा १०÷१२ पटक विद्युत् आउनेजाने भइरहेको छ, विद्युत् गएपछि पङ्खा चलाउन नपाउँदा झन् गाह्रो हुन्छ”, धनगढीका स्थानीय भूमिराज अवस्थीले भने ।

गर्मीले धनगढीका अस्पतालमा पखाला, बान्ता, ज्वरो र टाइफाइडका बिरामीको सङ्ख्या बढेको सेती प्रादेशिक अस्पतालका डा.प्रदीप मिश्रले जानकारी दिए । मध्याह्नमा तातो हावा चल्ने गरेकाले यसबाट बालबालिकालाई जोगाउन र झोलिलो खानेकुरा खुवाएर शरीरमा तरल पदार्थको मात्रा बढाउन डा.मिश्रले सल्लाह दिए । मौसमअनुसार सागपात र फलफूल सेवन गर्ने, सडेगलेका, बासी र जथाभावी राखिएका खानेकुरा नखान पनि चिकित्सकको सुझाव छ ।



प्रतिक्रिया दिनुहोस्