Logo

अङ्क गणितीय धरापमा परेपछि प्रचण्डले कांग्रेसलाई सराप्नुभयोः चित्रबहादुर केसी (भिडिओसहित)



काठमाडौं, ८ जेठ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू अङ्क गणितीय धरापमा परेपछि नेपाली कांग्रेसलाई सरापेको टिप्पणी गरेका छन् । हिजो (सोमबार) प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डले कांग्रेसले संसद् अवरोध गर्दा इतिहासमा ठूलो मूल्य चुकाउन पर्ने बताएका थिए । सोही सन्दर्भलाई उल्लेख गर्दै अध्यक्ष केसीले जनताको अर्बौं पैसा हिनामिना गर्नेलाई राज्यले नै संरक्षण दिएर प्रधानमन्त्री प्रचण्ड कांग्रेसविरुद्ध खनिएको टिप्पणी गरेका हुन् ।

साथै, प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद्मा उठाएको माग जायज रहेको उनले बताए । उनले प्रतिपक्षले सहकारी हिनामिना गर्नेमाथि छानविन हुनुपर्यो र बचतकर्ताले आफ्नो बचत फिर्ता पाउनुपर्यो मात्रै भनेको बताए । ‘जनताको यतिठूलो रकम चाहीँ मुट्ठीभरका टाठाबाठाले गुल्छरा उडाउने । अब त्यसको छानविन गर्नुपर्यो, ती लुटिएका, ठगिएका, धोका पाएका जनताको रमक फिर्ता गर्नुपर्यो भन्ने माग न हो । बढी माग के हो र ?’ प्रश्न गर्दै उनले भने, ‘त्यसमा त उहाँहरु सहमत हुनुपथ्र्यो, उहाँहरु सहमत हुनुभएन । तपाईँहरुले सत्ता छोड्नुपर्यो, सत्ता प्रतिपक्षलाई दिनुपर्यो भन्ने माग त होईन नि । अब यो चाहीँ लाखौं नेपालीको अर्बौं रुपैयाँ ध्वस्त पार्ने राज्यसत्ताको आडमा भएका छ कि छैन ? प्रतिपक्षको नाजायज माग हो ?’

साथै, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको हबिगत देख्दा आफैंलाई दिक्क लागेको उनको टिप्पणी छ । अध्यक्ष केसीले नेताहरुले यो व्यवस्थालाई परिचान गर्नै नजानेको बताए । अहिले नेताहरुले सत्ता र शक्तिमा मात्रै आँखा लगाइरहेको र जनताको समस्याहरु गौण बनिरहेको बताए ।

‘१७ महिनामा उहाँले ४ पटक विश्वासको मत लिनुभयो । नेपालको गणतन्त्रको हबिगतदेखेर मलाई आफैंलाई दिक्क लागेको छ, दुःख लागेको छ । यो सिस्टमलाई जसरी परिचालन गर्नुपथ्र्यो, त्यो भएन । राजनीतिक दलहरुको सत्ता र शक्तिमा मात्रै आँखा छ । जनताका समस्या गौण, सत्ता र शक्तिको लागि लडाइँ गरेको गर्यै,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्