काठमाडौं, ८ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उदयपुर जिल्लाका अध्यक्ष रामकुमार चौधरी प्रभु साह नेतृत्वको आम जनता पार्टीमा प्रवेश गरेका छन् । विप्लवका विश्वासिलो नेताको रुपमा चिनिएका चौधरीले पार्टी परित्याग गरी साह नेतृत्वको आजपा रोजेका हुन् ।
चौधरीलाई आज (मंगलबार) एक कार्यक्रमको आयोजना गरी अध्यक्ष साहले आफ्नो पार्टीमा स्वागत गरेका हुन् । साहले चौधरीलाई पार्टीमा स्वागत गर्दै राजनीति भविष्य सफलताको शुभकामना दिएका छन् । पछिल्लो समय आजपामा प्रवेश गर्नेहरुको लहर चलेको साहको भनाई छ ।
उनले आफूहरुले जनताका एजेण्डा सशक्त रुपमा उठाएकै कारण पार्टीप्रतिको आकर्षण बढेको बताउँदै आएका छन् । साहले अहिलेको व्यवस्थाबाट मुलुकलाई पार लगाउन नसकिने निश्कर्ष निकालेका छन् । उनले अहिले लोकतन्त्रको ठाउँमा दलतन्त्र हाबी भएको र लुटतन्त्रको कारण देश खोक्रो भएको टिप्पणी गर्ने गरेका छन् ।