Logo

विकल पौडेल भ्रष्टाचारी ठहर, २ वर्ष कैद र साढे २५ करोड जरिवाना तोकियो



काठमाडौं,९ जेठ । आईटी माफियाको रुपमा परिचय बनाएका विकल पौडेल भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतले उनलाई २ वर्ष कैद र झन्डै साढे २५ करोड जरिवाना हुने गरी भ्रष्टाचारी ठहर गरेको हो ।

मंगलबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले विकललाई सुरक्षण मुद्रण केन्द्रको खरिद घोटालामा भ्रष्टाचारी ठहर गरेको हो । उनलाई २५ करोड ४७ लाख रुपैयाँ विगो भराउने गरी फैसला गरेको छ । बिगो बराबर कै जरिवाना हुने विशेषले फैसला गरेकाले विकलले आधा अर्ब रुपैयाँ बढी राज्यकोषमा जम्मा गर्नुपर्ने भएको हो ।

गत वैशाखमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । एक वर्ष नाधेपछि विशेष अदालतले उनलाई भ्रष्टाचारी ठहरेको हो ।

विकलभन्दा ६ महिना पछाडि सुनिल पौडेलविरुद्ध दायर भएको ‘नेसनल पेमेन्ट गेटवे सिस्टम’को भ्रष्टाचार मुद्दा फैसला भएपछि मात्र विकलको मुद्दाको फैसला भएको हो । उक्त मुद्दामा सचिव मधुकुमार मरासिनी जोडिएकाले फास्ट ट्रयाकबाट विशेष अदालतले फैसला गरेको थियो । उक्त मुद्दामा सुनिलबाहेक सबैले सफाई पाएका थिए । यो मुद्दामा भने विकलसहित अन्य ३ जना भ्रष्टाचारी ठहर भएका छन् । विशेषले उक्त मुद्दामा नविनकुमार पौडेलमाथि ६ महिना कैद र ५ करोड ८४ लाख विगो र त्यो बराबरको जरिवानाको फैसला गरेको छ ।

विशेष अदालतले रोहितमान प्रधानलाई ५ करोड ८४ लाख रुपैयाँ र भुवन महर्जनलाई ५ करोड ७९ लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको हो । सुरक्षण मुद्रण स्थापनाको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट रमेशप्रसाद पोखरेल, शिरिष उपाध्याय, मित्रलाल पुरी र मनिकमान महर्जनले सफाइ पाएका छन् । पोखरेलले नेसनल पेमेन्ट गेटवे सिस्टमको भ्रष्टाचार मुद्दामा पनि विशेषबाट सफाइ पाएका थिए । विकलविरुद्ध विशेषमा अझै २ वटा भ्रष्टाचारका मुद्दा विचाराधीन छन् ।



प्रतिक्रिया दिनुहोस्