Logo

गृहमन्त्री लामिछानेको नाम लिएर गर्जिए ऋषि धमला : कैलाश सिरोहियाको गिरफ्तारी गलत हो, मिडियामाथिको प्रतिशोध सह्य हुँदैन् (भिडिओसहित)



काठमाडौं, ९ जेठ । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले गृहमन्त्री रवि लामिछानेले जहिल्यैपनि नेपाली मिडियामाथि आक्रमण गर्ने गरेको र तारो बनाएको टिप्पणी गरेका छन् । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोध साँधेर पक्राउ गरेपछि कान्तिपुर मुख्यालय सेन्ट्रल विजनेस पार्कमा आयोजित ऐक्यबद्धता जनाउने कार्यक्रममा बोल्दै अध्यक्ष धमलाले यस्तो टिप्पणी गरेका हुन् । उनले मिडियामाथिको प्रहारलाई सबै मिडियाकर्मीहरु मिलेर सशक्त र प्रभावकारी रुपमा प्रतिकार गर्नेपनि उद्घोष गरे ।

उनले कान्तिपुरलगायत सबै मिडियाले सहकारी ठगीको समाचार लेखेपछि गृहमन्त्री लामिछाने आँत्तिएको टिप्पणी गरे । उनले समाचार लेखेकै आधारमा कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको भन्दै प्रतिशोध साधेर मिडिया उद्योगमाथि आक्रमण गरिए नसहने चेतावनी दिए । उनले भने,‘कैलाश सिरोहियाको गिरफ्तारी गलत भएको छ । जुन किसिमको नियत राखेर गिरफ्तार गरिएको छ, त्यसमा समाचार सम्प्रेषण गरेकै कारणले, समाचार लेखेकै कारणले गिरफ्तारी गरियो भन्ने हाम्रो निष्कर्ष र ठम्याइ हो ।’

प्रक्रिया पूरा गरेर जोसुकैलाई पनि छानबिनको दायरामा ल्याउन मिल्ने भए पनि कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई बदनियतपूर्वक गिरफ्तार गरिएको अध्यक्ष धमलाको भनाइ छ । उनले भने,‘नागरिकताबारे छानबिन गर्न पाइन्छ । प्रक्रिया पू¥याएर छानबिन गरौँ । तर प्रतिशोध साँध्ने र बदनियतपूर्वक नेपाली मिडिया इन्डस्ट्रीमाथि जुन किसिमले आक्रमण गरियो । त्यो हामीलाई सह्य हुँदैन । त्यसका लागि हामी जस्तोसुकै मूल्य चुकाउन पनि तयार छौँ ।’

उनले लोकतन्त्रको ब्युटी भनेको आलोचना र विरोध सुन्नु भएको उल्लेख गर्दै अहिलेका गृहमन्त्री लामिछानेले आलोचना सहन नसकेको दाबी गरे । उनले भने,‘गृहमन्त्री रवि लामिछानेले जहिलेपनि मिडिया उद्योग र सञ्चारकर्मीलाई तारो बनाउनुभयो । उहाँले बोल्दाखेरी जहिले पनि नेपाली मिडिया र सञ्चारकर्मीमाथि नै आक्रमण गर्नुभयो । लोकतन्त्रको सुन्दरता भनेको आलोचना सहनु हो । विरोध सहनु हो । हाम्रो गृहमन्त्रीले कहिल्यैपनि विरोध सहन सक्नभएन । जब कान्तिपुर र सबै मिडियाले भन्छु म सहकारी ठगी प्रकरणमा उहाँको नाम मुछियो भनेर लेख्न थालेपछि उहाँ आत्तिनुभयो, डराउनुभयो ।’

आफू गृहमन्त्रीको भूमिका रहेको भए र सहकारी ठगी प्रकरणमा नाम मुछिएको समाचार आएको भए छानबिनलाई सघाउनको लागि राजीनामा दिने थिएँ भन्ने धमलाको गृहमन्त्रीलाई सुझाव थियो । उनले थपे,‘यदि म गृहमन्त्री थिएँ भने ममाथि छानबिन गर, म तत्काल पद छोड्दिन्छु । छानबिन गरेर सत्यतथ्य पत्ता लगाउनू भन्थेँ । उहाँले त उल्टो प्रतिष्ठित मिडिया हाउस कान्तिपुरका सञ्चालकलाई कार्यकक्षबाटै पक्राउ गर्नुभयो । आजसम्म कुनै पनि लोकतान्त्रिक मुलुकमा मिडिया सञ्चालक र पत्रकारलाई पक्राउ गर्दा निश्चित विधि, प्रक्रिया र मापदण्ड पु¥याइन्छ । हचुवाका भरमा गिरफ्तार गरिँदैन ।’

नेपालमा लोकतान्त्रिक आन्दोलन हुँदा अहिलेका गृहमन्त्री रवि लामिछाने अमेरिकामा रहेको र आफूहरुले लडेर लोकतन्त्रक ल्याएकै कारण अहिले गृहमन्त्री बन्न पाएको धमलाको भनाई छ । उनले भने,‘नेपालका प्रायः सबै आन्दोलनमा नेपाली मिडियाको महत्वपूर्ण भूमिका रहँदै आएको छ । २०४६ सालदेखि अहिलेसम्मको आन्दोलनमा हाम्रो भूमकिा महत्वपूर्ण छ । संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउनदेखि राजसंस्था फाल्नसम्म हामी सडकमा नआएको भए सम्भव थियो ? राजाको कू’को विरुद्धमा मिडिया सडकमा नआएको भए यति छिटो नेपालमा लोकतन्त्र आउने थिएन । रवि लामिछानेपनि गृहमन्त्री बन्न सक्नुहुन्थेन । २०६२/०६३ सालमा नेपाली मिडियाले खेलेको भूमिका कोही पनि नेपालीले बिर्सन सक्दैन् ।’



प्रतिक्रिया दिनुहोस्