Logo

बिदाको समयमा सेवा दिँदै प्रादेशिक आयुर्वेद चिकित्सालय



कैलाली, ९ जेठ । प्रादेशिक आयुर्वेद चिकित्सालय कैलालीले शनिबारलगायत अन्य बिदाको दिनमा पनि बिरामीको उपचार दिन थालेको छ ।

प्रादेशिक आयुर्वेद चिकित्सालयका मेडिकल सुपरिटेन्डेन्ट तथा बालरोग विषेशज्ञ डा रामकामेश्वर ठाकुरले चिकित्सालयमा उपचार गर्न आउने बिरामीलाई लगातार सेवा दिनुपर्ने अवस्था रहेको उल्लेख गर्दै बिदाको दिन उपचार सुरु गरेको जानकारी दिए ।

“अहिले गर्मी याम छ । बिरामको लगातार उपचार गर्नुपर्ने हुन्छ”, उनले भने । डा ठाकुरले हाल आयुर्वेद चिकित्सालयमा जडीबुटी प्रशोधन गरी औषधि बनाउन उपकरण जडान भइरहेको बताए । सुदूरपश्चिम प्रदेश अन्य प्रदेशको तुलनामा आयुर्वेदको क्षेत्रमा पछाडि परेको उनको भनाइ थियो ।

उन्नाइस हजारको उपचार

प्रादेशिक आयुर्वेद चिकित्सालय कैलालीले चालु आर्थिक वर्ष २०८०÷८१ को चैत महिना सम्ममा १९ हजार ६ सय बिरामीको उपचार गरेको छ । प्रादेशिक आयुर्वेद चिकित्सालयका डा दुर्गाप्रसाद ढुङ्गानाका अनुसार उपचार गर्न आउनेमा ११ हजार १२ महिला तथा आठ हजार १७ पुरुष रहेका छन् ।

पाँच हजार ६ सय ३४ महिला र चार हजार तीन बिरामीले बाथरोग तथा नशासम्बन्धी उपचार गराएका छन् । आर्थिक वर्ष २०७९÷८० मा २९ हजार सात सय ४७ बिरामीले विभिन्न रोगको उपचार गराएका छन् । सुदूरपश्चिम प्रदेशका नौमध्ये सात जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, एउटा अञ्चल आयुर्वेद, ३३ औषधालय र ३० नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा छन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot