Logo

राष्ट्रिय वाणिज्य बैंक र मुद्रण विभागबीच ‘पेसाकर्मी सरल कर्जा प्रवाह’ सम्झौता



काठमाडौँ, ९ जेठ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र मुद्रण विभागबीच विभागका कर्मचारीलाई ‘पेसाकर्मी सरल कर्जा प्रवाह’ गर्न सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र विभागका महनिर्देशक रेखा कँडेलले हस्ताक्षर गरेका छन् ।

सम्झौता भएपश्चात विभागमा कार्यरत तोकिएको सेवाअवधि पूरा गरेका कर्मचारीहरुलाई विभागको सिफारिसमा अधिकतम १५ लाखसम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले पेसाकर्मी सरल कर्जा प्रवाह गर्ने जनाइएको छ ।

बैंकले आधार दरमा दुई प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने छ । हाल बैंकको आधार दर ७.३५ प्रतिशत रहेको छ । सम्झौताअनुसार विभागका कर्मचारीहरुको तलबी खाता बैंकले सञ्चालन गर्नेछ । यस सम्भौतापश्चात् दुवै पक्ष लाभान्वित हुने विश्वास गरिएको छ ।

सो अवसरमा विभागका वरिष्ठ मुद्रण अधिकृत पद्यराज पाठक, बैंकका विभागीय प्रमुख राज्यलक्ष्मी खड्गी, बैंकका सिंहदरबार परिसर शाखाका शाखा प्रबन्धक अनिश रायमाझीलगायतको उपस्थिति रहेको थियो । बैंकको हाल ७७ जिल्लामा २८७ शाखा कार्यालय, तीन सय आठ एटिएम र ७१ एक्स्टेन्सन काउण्टर रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot