Logo

साकेला संस्कृतिमा तरङ्गीत हुँदै किराँत राई



काठमाडौँ, १० जेठ । ‘साकेला उभौली-२०८१/यलेदोङ-५०८४ को शुभकामना छ !’ वैशाखे पूर्णिमा तिथि भित्रिदै गर्दा सामाजिक सञ्जालहरूमा यही शब्दले ढाकेको छ । काँधमा ढोल भिरेर हातको गजोले दायाँतर्फको तालमा ठोक्दा आउने आवाजलाई ढुङ ढुङ ढुङ सुनिन्छ । त्यतिखेरै बायाँतर्फको गजोले ठोक्दा सुनिन्छ–टुङ टुङ टुङ । दुवैतर्फ एकसाथ ताल मिलाएर सुनिन्छ- ढुङ्कु ढुङ्कु ढुङ्कु । प्रायःगरी यो ढोलचाहिं पुरुषको काँधमा हुन्छ ।

उता उस्तै गरी बज्छ, झ्याम्टा । दायाँ र बायाँ औंलाले डोरीगाँठे हत्केलाको खोपिल्टामा अड्याएर झ्याम्टा बजाइन्छ । आवाज दिन्छ– झ्याम झ्याम झ्याम । बजाउनेचाहिं महिलाको कोमल हत्केलामा हुन्छ । पुरुषको हातमा उसैगरी बच्छ । फेटा गुथेका सिलिमाङ्पा (पुरुष) र फेटा गुथेका सिलिमाङ्मा (महिला) हुन्छन् । हातमा झ्याम्टासहित उनै पुरुष र महिलाले गोलाकार मानव साँलोलाई संस्कृतिमय सिलि नाच्ने नेतृत्व गर्छन् ।

सहभागीहरू पुरुषहरू एक हातमा चौरीको पुच्छर र अर्को हातमा सिकिरी (छिर्लिङ्ग) लिएर पंक्तिवद्ध गोलाकारलाई पछ्याइरहेका हुन्छ । महिला पङ्क्ति दुवै हातमा सेउली लिएर हल्लाइरहेका हुन्छन् । गोलाकारको मध्य भागमा ढुंगाको साकेला थान हुन्छ । त्यहाँ धामी, बिजुवाले विधिवत प्रकृतिको पूजा गरी सेउली गाडेको हुन्छ । धरती, आकाश, हावा, पानी, सिमेभूमे, खोलानाला, सिकारीबेखारीको विधिवत् पुकारेर बल माग्दछ । गोलबद्ध सबैको मुखारबिन्दबाट एकसाथ स्वरहरू गुन्जिएको सुनिन्छः

सिंकौली सेउली सेलेले
नाचीमा जाऊँ पेलेले
सैसैला हो सैसैला
सै ढोले सै अर्को ढोले खोइ …

बाजाको तालसँगै सबैको गोडाको चाल एउटै हुन्छ । सबैको हातको चाल एउटै हुन्छ । सबैको आवाज एकैसाथ सुनिन्छ ।

उभौली (वैशाखे पूर्णिमा) र उधौली (मङ्सिरे पूर्णिमा) तिथि विशेषगरी प्रकृतिको पूजा र पुर्खाको मानमनितो गर्ने अवसर हो यो । सामूहिक पूजाआजा गरेपछि खुसियाली मनाउन सांस्कृतिक बाजागाजा बजाएर त्यसको तालमा नाच्ने गरिन्छ । महिना दिनसम्म सामूहिक जमघटसहित नाचिन्छ ।

नाचलाई सिली (नाच)लाई साकेला सिली भनिन्छ । सिलिमाङ्पा (सिलिहोँपा), सिलिमाङ्मा (सिलिहोँमा) मात्र होइन, पङ्क्तिबद्ध तन्नेरी, तरुनी, बुढौली, केटाकेटीहरूले पहिरिएका सांस्कृतिक वेषभूषा, गरगहनाले चाडमय माहौलको रौनक बढाएको हुन्छ ।

यो सांस्कृतिक झल्को किराँत राई जातिको हो । राई जातिभित्र २६ भाषा बोल्ने समुदाय पर्दछन् । उनीहरू साझा सांस्कृतिक उत्सवलाई समग्रहमा साकेला भनेर जानिन्छ । यद्यपि प्रदेश–१ को किराँत भूमिमा भाषाअनुसार साकेन्वा, साकेवा, तोसीरतोसु, तोस, साखेल, पेंmदर, साकाला, भूमे आदि शब्दले पुकारिन्छ । उभौली र उधौली चाड साकेलाले संसारभरि छरिएका किराँत राई जातिलाई बाँधेको छ ।

किराँत राई जाति र जनसङ्ख्या

इतिहासमा उल्लेख ओल्लो किराँत , माझ किराँत र पल्लो किराँत क्षेत्रमा किराँत जातिको बसोबास रहेको पाइन्छ । किराँत जातिअन्तर्गत राई, लिम्बू, याक्खा र सुनुवार पर्दछन् । यसबाहेक धिमाल, हायु, सुरेल, जिरेल, थामीले पछिल्ला दशकमा किराँत जाति भनेर दाबी गरेका छन् ।

किराँत राई जाति एक, भाषा अनेक रहेको समुदाय हो । राई जातिभित्र २६ भाषा बोल्ने समुदाय रहेका छन् । एउटा भाषा समूहभित्र अनेकन पाछा–उपपाछाहरू छन् । तसर्थ, एउटै भाषीबीच वैवाहिक सम्बन्ध कायम हुने गरेको छ । फरक भाषीबीच हुने विवाहलाई स्वजातीय विवाह मान्दछन् ।

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कले देश नेपालमा १४२ जातजाति, १२४ भाषा र १० वटा धर्म मान्ने समुदाय रहेका छन् । देशको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । त्यसमा महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ जना (५१.०२ प्रतिशत) र पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ (४८.९८ प्रतिशत) रहेको छ । लंैगिक अनुपातका आधारमा एकसय महिला बराबर ९५.५९ पुरुष रहेको छ ।

कुल जनसंख्याको १०औं स्थानमा राई जाति रहेको छ । राई जातिको जनसंख्या ६ लाख ४० हजार ६७४ रहेको छ । यो कुल जनसंख्या २।२ प्रतिशत हो । जसमा बान्तावा, चाम्लिङ, कुलुङ, थुलुङ, साम्पाङ, खालिङ, वाम्बुले, बाहिङरबायुङ, याम्फुरयाम्फे, नाछिरि, दुमी, मेवाहाङ, पुमा, आठपहरिया, दुङमाली, कोयी, लोहोरुङ, जेरुङ, छिन्ताङ, छिलिङ, तिलुङ, लुङखिम, फाङदुवाली, बेलहारे, साम र देवास भाषिक समुदाय पर्दछन् ।

किराँतीहरूले आफूले मनाउने परम्परागत सांस्कृतिक उत्सवलाई चाड भन्ने गर्दछन् । पर्व भनेको हिन्दूकृत शब्द हो । रामले रावणलाई मारेपछि मनाइने दशै पर्व भनिएको छ । अर्कोतर्फ इतिहासमा मानवरक्तपातसँग जोडिएको ठान्दछन् । जस्तो कि अलो पर्व, कोत पर्व इत्यादि । त्यसैले किराँत राई यायोक्खाले उभौली र उधौलीमा आयोजना गरेको सामूहिक उत्सवमा ‘चण्डी होइन साकेला’, ‘पर्व होइन चाड’ भन्ने पर्चा बाँडेको पाउँछौं । यो अभियान जारी छ ।

किराँत राई यायोक्खा, किराँत याक्थुङ चुम्लुङ, किराँत याक्खा छुम्मा र सुनुवार सेवा समाजले संयुक्त रूपमा माग गरेअनुसार नेपाल सरकारले २०५८ सालमा मंसिरेपूर्णिमा तिथिलाई ‘किराँत चाड’ भनेर घोषणा गरेको छ । ‘नेपाल राजपत्र भाग ४ मिति २०५८/१२/२६ मा ‘पर्व विदाहरू’ (छ) किराँत पर्व मान्ने सरकारी कर्मचारीहरूका लागि किराँत चाड पर्ने दिन (मङ्सिरे पूर्णिमा) एक दिन ।’ उल्लेख रहेको पाइन्छ । त्यसैगरी २०६४ सालमा उभौली वैशाखे पूर्णिमा समेतलाई किराँत चाड भनेर घोषणा भएको छ । यायोक्खाले उभौली र उधौली चाडलाई एकरूपताका निम्ति ‘साकेला’ शब्द स्थापित गरेको छ । साकेला चाम्लिङ भाषाको शब्द हो । उभौली र उधौली बुझाउने सांस्कृतिक साकेन्वा, साकाला, साक्खेवा, तोसी, भूमे आदि भनेर पुकारिन्छ ।

खासगरी माझकिराँत को खोटाङ र भोजपुरमा सार्वजनिक रूपमा साकेला नाच्ने परम्परा थियो । छ । जनमानसले भन्छ कि गाउँघरमा गरिने अधिकांश सांस्कृतिक गतिविधिहरू पछौटे हुन्छन् । त्यहाँ मान्छेहरू कुसुन्डे हुन्छन् । बोल्न जान्दैनन् । हाँस्न जान्दैनन् । खान जान्दैनन् । पिउन जान्दैनन् । लाउन जान्दैनन् । पढ्न जान्दैनन् । लेख्न जान्दैनन् । मूर्ख हुन्छन् । पाखे हुन्छन् । एकलकाँटे हुन्छन् । आदि इत्यादि भनेर हियाउने अर्थात् घृणा गर्ने चलन उहिले ज्यादा थियो । अहिले त के गाउँ के सहर भेद मेटिंदो छ । आज साकेला भन्नासाथ आम नेपाली जनमानसले किराँत राई जातिको सांस्कृतिक चाडपर्व र नाच भनेर जान्दछन् । किनभने हरेक उभौलीमा माझ किराँत मा नाचेको साकेला सिलि त्यसै दिन काठमाडाँैमा पनि नाच्दछन् ।

बेलायतमा पनि त्यसै साँझ नाच्दछन् । अमेरिकामा पनि त्यही दिन नाच्छन् । जापान, कोरियामा पनि नाच्छन् । साउदी, कतार, बहराइन, युएइमा उही बेला नाच्छन् । अथवा भनौं विश्वभरि जहाँ जहाँ किराँत राईहरू पुगेर बसोबास गरेका छन् र किराँत राई यायोक्खा भन्ने संस्था गठन गरेका छन् भने अनिवार्य रूपमा उभौली र उधौलीमा भेला भएर नाचेकै हुन्छन् । उही बाजाहरू ढोल, झ्याम्टा ठटाएकै हुन्छन् । सिंकौली सेउली हल्लाएर गोलाकार साकेला सिली प्रदर्शन गरेकै हुन्छन् । यसरी किराँत राईहरूलाई साकेलाको एक सूत्रमा बाँधिरहेका पाउँछौं । यसरी आज साकेला सिलि नाच्नु किन्चित हीनताबोध छैन । साकेला नाच्दा पुर्खाहरूप्रति गौरव जाग्छ । गर्वले छाती चौडा बन्छ ।

त्यतिबेलासम्म साकेला संस्कृति पाखे थियो, जतिखेर सहरमा प्रदर्शन गरिएको थिएन । २०३८ जेठ १० गते (मे २३, १९८१) शनिबारको दिन थियो । एक हुल किराँत युवाहरू राजधानी काठमाडौंको शंकरदेव क्याम्पसको आँगनमा भेला भएर साकेला सिली (नाच) प्रदर्शन गरेका थिए । त्यही दिनको साइतपछि साकेला संस्कृतिले संसारभरिका किराँत राईहरूलाई एकतावद्ध तुल्याएको हो ।

यसरी प्रकृतिपूजक किराँत राईहरूको साझा संस्कृतिका रूपमा साकेला स्थापित भएको छ । मुन्दुम संस्कृतिको एक अमूल्य अस्पृश्य सम्पदाका रूपमा विकसित साकेला उधौली र उभौलीमा मात्र नभई अन्य सांस्कृतिक कला प्रदर्शनीहरूमा समेत प्रदर्शन गर्ने गरिएको छ ।

साकेला सिलि भनेको ढोलको ढुङ्कु ढुङ्कु र झ्याम्टाको झ्यामऽ झ्यामऽ तालमा नाचिने ब्रेक डान्स होइन । यो मुन्दुम निर्देशित पुर्खाले सुम्पिएको सांस्कृतिक सम्पदा हो । यसका विधिविधानहरू आजपर्यन्त जीवन्त पाइन्छ । यसर्थ यसतर्फ ध्यान पुग्न जरुरी छ । राज्यको तीनै तहका सरकारले साकेलाको मौलिक मूल्य मान्यताको संरक्षण, संवर्द्धन, प्रवर्द्धन का निम्ति समुदायसापेक्ष आफ्ना नीति तथा कार्यक्रममा समावेश गर्न जरुरी छ ।

(लेखक पत्रकार गणेशकुमार राई हुन्)



प्रतिक्रिया दिनुहोस्