Logo

चीनको ग्वान्जाओमा नेपालको पर्यटन प्रवर्द्धन



काठमाडौँ, १० जेठ । छमेकी मुलुक चीनको सहर ग्वान्जाओमा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ । नेपाल पर्यटन बोर्ड र प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) ले संयुक्त रूपमा यही मे १६ देखि १८ तारिखसम्म ग्वान्जाओमा आयोजित ३२औँ ग्वान्जाओ इन्टरनेशनल ट्राभल फेयर (जिआइटीएफ)मा सक्रिय सहभागी भइ नेपालको पर्यटन प्रवर्द्धन गरिएको हो ।

नेपालको पर्यटन बजारका लागि चीन भारतपछिको दास्रो ठूलो गन्तव्य हो । साथै चीन विश्वको आउटवाउण्ड टुरिजममा शीर्षस्थानमा रहँदै आएको छ । चीनको कुल आउटबाउण्ड पर्यटकमध्ये एक प्रतिशत मात्रै पनि नेपाल ल्याउन सकियो भने पर्याप्त हुने जानकारहरु बताउँछन् ।

चीनबाट धेरैभन्दा धेरै चिनियाँ पर्यटक नेपालमा आकर्षित गर्न विभिन्न पर्यटन व्यापार मेला आयोजना हुँदै आएका छन् । दुई मुलुकबीच विभिन्न समयमा हुने कूटनीतिक भ्रमण र सांस्कृतिक भ्रमणले पर्यटन, संस्कृतिको माध्यमबाट सम्बन्धलाई थप प्रगाढ बनाइरहेको छ ।

हाल ग्वान्जाओबाट चीनको साउदर्न एयरलाइन्सले हरेक दिन एउटा उडान गरिरहेको छ आगामी जुन १ देखि दिनमा दुई वटा उडान गर्ने तयारी गरेको छ । नेपाल एयरलाइन्सले पनि कोरोना महामारी अघि तयारी गरे पनि कोरोना महामारीका कारण रोकिएको थियो ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्अनुसार सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । जसमा चिनियाँ पर्यटकको सङ्ख्या ६० हजार ८७८ थियो । पछिल्लो समय नेपालले चिनियाँ पर्यटकलाई भिसा शुल्क नलिने घोषणा गरिसकेको छ । गत वैशाख १९ गतेदेखि नेपालीलाई साधारणतर्फ भिसा शुल्क नलाग्ने चिनियाँ राजदूतावासले जनाएको थियो । नेपालले सन् २०१६ देखि नै चिनियाँ नागकिरलाई निःशुल्क भिसा उपलब्ध गराउँदै आएको छ ।

सन् २०२४ मा चिनियाँ पर्यटक आगमन बढिरहेको छ । बोर्डकाअनुसार गत अप्रिलमा एक लाख ११ तीन सय ७६ विदेशी पर्यटकले नेपाल भ्रमण गरेकामा चीनबाट मात्रै नौ हजार सात सय ५० पर्यटक नेपाल आएका छन् । मार्चमा १२ हजार ९३, फेब्रुअरीमा नौ हजार एक सय ८० र जनवरीमा एक हजार चार सय ३६ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए । कोरोना महामारीपूर्व सन् २०१९ मा एक लाख ६९ हजार पाँच सय ४३ चिनियाँ पर्यटक नेपाल आएका थिए ।

चीनबाट बढीभन्दा बढी पर्यटक आकर्षण गर्न प्रभावकारी बजारीकरण जरुरी रहेको पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुरेससिंह बुडालले बताए । “चीन संसारको सबैभन्दा ठूलो पर्यटन स्रोतबजार भएको र विभिन्न गन्तव्यहरूले चीनलाई प्राथमिकतामा राखी प्रवद्र्धन तथा आक्रामक बजारीकरण गरिरहेको परिवेशमा नेपालको प्रवर्द्धन प्रभावकारी बनाउन जरुरी छ”, उनले भने ।

नेपालका निजी क्षेत्रका सातवटा पर्यटन तथा हस्पिटालिटी व्यवसायीसहितको सहभागिता रहेको व्यापार मेलामा चीन र अन्य अन्तर्राष्ट्रिय देशबाट ४० हजारभन्दा बढी जनाले सहभागिता जनाएका थिए ।

पर्यटन बोर्डले मे १६ तारिखका दिन स्थानीय अप्रेटर्स तथा सहभागीमाझ नेपालको पर्यटन गन्तव्यबारे प्रस्तुतीकरण गरेको थियो । सोही दिन साँझ आयोजित ‘बायर्स नाइट’ कार्यक्रममा पाटा नेपाल च्याप्टरले चाइना ‘आउटबाउण्ड रिसर्च इन्टिच्युट’बाट पर्यटन प्रवर्द्धनका लागि समग्र भूमिका शीर्षकमा गोल्ड अवार्ड र जिआइटीएफ आयोजकबाट ‘द बेष्ट पार्टनर अवार्ड’ प्राप्त गरेको थियो । सोही अवसरमा नेपाल पर्यटन बोर्डले ‘मोस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेशन अवार्ड’ र जुगल होलिडेजले ‘प्रोडक्ट इन्नोभेसन’ शीर्षकमा गोल्ड अवार्ड प्राप्त गरेको छ ।

मे १७ तारिखमा आयोजित जिआइटीएफ ‘कन्फ्रेन्स’मा पाटा नेपाल च्याप्टरका कार्यसमिति सदस्य लाक्पाफुटी शेर्पा, पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेससिंह बुडाल र पर्यटन बोर्डका अधिकृत कुन्दन शर्माले ‘जलवायु परिवर्तनको परिप्रेक्षमा चिनियाँ पर्यटकहरूका लागि नेपालले प्रदान गर्ने दिगो पर्यटन उपजहरू’ शीर्षकअन्तर्गत समूहगत छलफलमा आमन्त्रित वक्ताको रुपमा सहभागिता जनाएका थिए । उक्त सेशनको सहजीकरण मकाउ युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीका प्रोफेसर डा टिमुदी लीले गरेका थिए ।

मेलामा सहभागी नेपाल बिग माउन्टेन ट्राभल कम्पनीका कार्यकारी निर्देशक सुजित रेग्मीले मेलामा नेपाल गन्तव्य प्रवर्द्धनका साथै पर्यटन व्यवसाय प्रवर्द्धनका हिसाबले प्रभावकारी भएको विश्वास व्यक्त गरे । डेस्टिनागो टुर्स एण्ड ट्राभल्स प्रालिका कार्यकारी निर्देशक हिम्मत पुरीले महामारीपश्चात पहिलोपटक जिआइटीएफमा नेपालको सहभागिताले चिनियाँ अपरेटर्स र व्यापारसँग पुनः जोडिने अवसर मिलेको बताए ।

होटल हिमालयका महाप्रबन्धक दीपेश केसीले मेलामा नेपालको सहभागिताले चिनियाँ बजारमा प्रवर्द्धन पुनः सुरु गर्न कोसेढुङ्गा भएको बताए । चिनियाँ बजारमा नेपालको प्रवर्द्धनका लागि ‘सिट्रीप’, ‘टिकटक’, ‘विच्याट’ इत्यादिजस्ता विभिन्न अनलाइन प्लेटफर्महरूमा नेपालको डिजिटल उपस्थिति र प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्ने उनले बताए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot