Logo

चण्डेश्वरी जात्रामा रैथाने खाना महोत्सव



काभ्रेपलाञ्चोक, १० जेठ । काभ्रेपलाञ्चोकको बनेपास्थित ऐतिहासिक चण्डेश्वरी जात्राका अवसरमा आजदेखि रैथाने खाना महोत्सव सुरु भएको छ । तीन दिनसम्म चल्ने जात्रा अवधिभर महोत्सव पनि सञ्चालन हुने आयोजकको भनाइ छ ।

काभ्रेपलाञ्चोक होटल तथा रेष्टुराँ व्यवसायी सङ्घ र काभ्रेपलाञ्चोक पार्टी प्यालेस तथा क्याटरिङ सङ्घद्वारा संयुक्त रूपमा आयोजित महोत्सवको एक कार्यक्रमकाबीच बनेपा नगरप्रमुख शान्तिरत्न कायस्थले जेरी पकाएर र उपप्रमुख विमला सापकोटाले सेल पकाएर उद्घाटन गरे । शाक्य र सापकोटाले रैथाने परिकार प्रवर्द्धनमा महोत्सवले टेवा पुर्याउने बताए ।

सांस्कृतिक सदभाव र एकताको भावना जागृत गराउने, रैथाने खानाको परिचय तथा प्रवद्र्धनका लागि महोत्सवको आयोजना गरिएको होटेल तथा रेस्टुराँ व्यवसायी सङ्घका अध्यक्ष श्यामकुमार भालुले बताए । महोत्सव नाफामूलकभन्दा पनि रैथाने खाना प्रवर्द्धनका लागि आयोजना गरिएको उनले बताए । उनका अनुसार चण्डेश्वरी जात्राको भोजमा तयार गरिने ‘समयबजी’ महोत्सवको मुख्य आकर्षण बनाइएको छ ।

महोत्सवका २५ मध्ये १५ प्रदर्शनी कक्षमा नेवारी रैथाने परिकार राखिएको होटल व्यवसायी महासङ्घका कोषाध्यक्ष कृष्ण श्रेष्ठले जानकारी दिए । बाँकी १० वटा प्रदर्शनी कक्षमा भने अन्य खानाका परिकार छन् । श्रेष्ठले जात्रामा आउने आफन्त, इष्टमित्र एवं पाहुनालाई लक्षित गरेर महोत्सव आयोजना गरिएको बताए ।

यसैबीच चण्डेश्वरी जात्राअन्तर्गत आज बिहान सबेरै मत पूजा (चिराग यात्रा) गरी औपचारिक रूपमा जात्रा सुरु गरिएको हो । यात्रामा हजारौँ धर्मालम्बीको उपस्थिति छ ।

तुलसीको काठद्वारा निर्मित रथ आजै बनेपाको तीनधारामा बनाइएको पाङ्ग्रा नभएको खटलाई भेडा बलि दिइएपछि देवता नभएको खाली रथ (खट)लाई स्थानीय युवाहरूले विभिन्न बाजागाजासहित बोकेर ‘ल्हाका पालुं हाः’ भन्दै चण्डेश्वरी मन्दिरतर्फ लगिनेछ । अन्तिम दिन देवी चण्डेश्वरीलाई रथारोहण गराई देवगृहबाट परिक्रमापश्चात् पुनः मन्दिर पुर्याएपछि जात्रा सकिने छ । जात्रा अवधिभर स्थानीयका घरघरमा भोज गरिन्छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot