Logo

रवि लामिछानेको नाम उल्लेख गरेर संसदीय समिति बन्नुपर्ने अडानबाट पछि हट्दैनौंः सहमहामन्त्री परियार



काठमाडौं, १० जेठ । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर छानविन समिति बन्नुपर्ने अडानबाट आफूहरु पछि नहटेको बताएका छन् । आज (बिहीबार) छानविन समितिको कार्यादेश (टीओआर) टुङ्ग्याउन गठित कार्यादलको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले उपप्रधान एवं गृहमन्त्री लामिछानेले सहकारीको रकम अपचलन गरेको हुनाले उनको नाम उल्लेख हुनैपर्ने बताएका हुन् ।

विगतका छानविन समिति पनि ब्यक्तिको नाम केन्द्रीत नभइ बनेको स्मरण गराउँदै सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा उनले उनले भने, ‘एउटा व्यक्ति सार्वजनिक पदमा बसिरहेको छ । यो त व्यक्तिमा केन्द्रीत भयो क्या । त्यतिबेला मन्त्रालयसँग केन्द्रीत थियो । अर्थ मन्त्रालयले बाहिरको मान्छे प्रवेश गराएको । मन्त्रीको नाम जोडिने कुरा एउटा पाटो भयो, त्यो संस्थागत कुरा थियो । यो अहिले गृह मन्त्रालयले गरेको अपचलन होईन । गृहमन्त्रालयले अपचलन गरेको भए मन्त्रीको नाम लेखिँदैन थियो । यो गृह मन्त्रालयले गरेको होईन । यो रवि लामिछानले नै गरेको हुनाले रवि लामिछाने लेख्न बाध्य भएको हो । भोलि जीवन परियारले सार्वजनिक पदमा बसेर अपचलन गर्यो भने मेरो नाम लेखिनुपर्छ । यो इतिहासमा रहोस्, यसले फरक पार्दैन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot