Logo

‘बुद्ध र कमल’ चित्रकला प्रदर्शनी



नवलपुर (नवलपरासी), ११ जेठ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा ‘बुद्ध र कमल’ विषयक चित्रकला प्रदर्शनी सुरु भएको छ । बुद्ध जयन्तीको अवसर पारेर बिहीबारदेखि सुरु भएको प्रदर्शनीमा स्थानीय १३ जना कलाकारका १३ वटा तस्वीर राखिएका छन् ।

अहिंसा र सत्यको बाटोमा लाग्नुपर्छ भन्ने सन्देश दिने तस्वीर प्रदर्शनीमा राखिएका गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदीले बताए । संस्कृति र कलाको उत्थान नभएसम्म राष्ट्रको उन्नति हुन नसक्ने भन्दै उनले प्राचीन कलाले नेपाललाई चिनाएको बताए । उनले काठमाडौँमा हुने कला सिर्जना र काठमाडौँ बाहिर हुने कला सिर्जनाको गुणस्तरमा भिन्नता नभए पनि काठमाडौँ बाहिर रहेका कलाकार र चित्रकला प्रदर्शनीबारे आमसञ्चारका माध्यमले कम महत्व दिने गरेका गुनासो गरे ।

गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव कलाकार भीम शर्माले संस्कृति, कला र प्राकृतिक सम्पदाबाट ठाउँ चिनाउन सकिने बताए । “हामीले कोरेका चित्र हेर्ने मान्छे कम हुँदा तथा चित्रबारे प्रतिक्रिया नआउँदा हामीमा उत्साह थपिँदैन”, उनले भने, “प्रदर्शनीमा राखिएका चित्र बिक्री पनि हुँदैनन् र कलाकारको ऊर्जा घट्छ ।”

मोफसलमा कलाका पारखीको कमी रहेको कलाकार बताउँछन् । प्रदर्शनीको सन्दर्भमा आयोजित कला संवादका क्रममा साहित्यकार एवं समीक्षक उदय अधिकारीले साहित्यकार सरिता तिवारी, कलाकार प्रकाश थापा र पत्रकार रमेशकुमार पौडेलसँग कलासम्बन्धी विविध विषयमा संवाद गरेका थिए। संवादका क्रममा पत्रकार रमेशकुमार पौडेलले मोफसलमा हुने कलासम्बन्धी कार्यक्रमबारे पत्रकारलाई कम जानकारी हुने हुँदा सञ्चारमाध्यमबाट प्रचारप्रसार कम हुने गरेको बताए ।

संवादकै क्रममा साहित्यकार सरिता तिवारीले कला महँगो हुँदा सबैको पहुँचमा पुग्न नसकेको बताए । स्थानीय सरकारको कलाकारलाई प्रवर्द्धन गर्ने कार्यक्रम नहुनु, कलाकारले समुदायसँग सहकार्य नगर्नाले चित्रकलाप्रति मान्छेको रुचि नबढेको बताए ।

प्रदर्शनीमा राखिएका चित्रमा गौतमबुद्ध र कमलको सम्बन्धलाई देखाइएको छ । प्रदर्शनीमा कलाकार गोविन्दराज विनोदी, दामोदर (डी) बराल, प्रकाश थापा, बरुणबाबु घिमिरे, आकृति घिमिरे, भीम शर्मा, प्रमेश कँडेल, गोपाल तामाङ, सन्तोष श्रेष्ठ, नारायण सापकोटा, रामहरि श्रेष्ठ, सुलभ पौडेल र सुशील गुरुङका चित्र छन् । आगामी १० दिनसम्म जारी रहने प्रदर्शनीका तस्वीर खरिद गर्न सकिनेछ ।

गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठानको आयोजनामा भएको प्रदर्शनीमा ‘हामी कलाकार’ नामको संस्थाको पनि साझेदारी छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot