Logo

राष्ट्रिय कराते प्रतियोगिताको उपाधि खेलकुद प्रतिष्ठानलाई



खोटाङ, ११ जेठ । दिक्तेलमा बिहीबार सम्पन्न राष्ट्रिय कराते प्रतियोगिताको उपाधि नेपाल खेलकुद प्रतिष्ठानले हात पारेका छ । ‘प्रथम बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव–२०८१’ अन्तर्गत भएको प्रतियोगितामा खेलकुद प्रतिष्ठानले आठ स्वर्ण, चार रजत र दुई कास्य पदकसहित एक लाख ११ हजार एकसय ११ राशिसहित उपाधि जितेको हो ।

सातवटै प्रदेशका कराते खेलाडी सहभागी प्रतियोगितामा तीन स्वर्ण, दुई रजत र सात कास्य पदकसहित बागमती प्रदेश द्वितीय, दुई स्वर्ण, एक रजत र चार कास्य पदकसहित गण्डकी प्रदेश तृतीय तथा एक स्वर्ण, सात रजत र चार कास्य पदकसहित कोशी प्रदेश चौथो भएको छ । प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र चौथोले क्रमशः एक लाख ११ हजार एक सय ११, रु ५५ हजार पाँच सय ५५, ३३ हजार तीन सय ३३ र २२ हजार दुई सय २२ नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा महिलातर्फ सुदूरपश्चिम प्रदेशकी गरिमा मल्ल तथा पुरुषतर्फ आयोजक टोलीका रुरीहाङ दुमी राई घोषित भएका छन् । उनीहरूलाई जनही २२ हजार दुई सय २२ प्रदान गरियो ।

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा उत्कृष्ट व्यवस्थापनमा मधेस प्रदेश घोषित भएको छ । उत्कृष्ट व्यवस्थापन गर्ने मधेश प्रदेशलाई ११ हजार एक सय ११ नगद प्रदान गरिएको थियो । गत वैशाख ३१ गते सुरु भएको महोत्सवअन्तर्गत एथ्लेटिक्स, राष्ट्रिय कविता तथा राष्ट्रिय गायन प्रतियोगिता पनि आयोजना गरिएको थियो ।

दिक्तेल बजारमा आयोजित बृहत् महोत्सवमा पर्याप्त आर्थिक गतिविधि भएका उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताएका छन् । महोत्सवमा सहभागी हुन राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी तथा साहित्यिक एवं साङ्गीतिककर्मी दिक्तेल बजारमा भेला भएका थिए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot