Logo

क्यान्सरको जोखिम पहिचान गर्न स्वास्थ्य शिविर



गोरखा, ११ जेठ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा पाठेघरको मुखमा हुने क्यान्सरको पहिचान र न्यूनीकरणका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

महिलामा हुने पाठेघरको मुखमा हुने क्यान्सरको जोखिम पहिचान गर्न भिआइए (एसिड राखेर भाइरसको कोषिका हेर्ने विधि) परीक्षण तथा निःशुल्क स्वास्थ्योपचार शिविर आउोजना गरिएको हो ।

गाउँपालिकाको आयोजना तथा क्यान्सर रिलिफ सोसाइटी काभ्रे र अष्ट्रेलियन क्यान्सर फाउण्ेसनको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा पालिकाभित्रका पाँच सय ७० महिलाले उपचार सेवा लिएका गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए ।

“भिआइए परीक्षणले केही वर्षपछि क्यान्सर हुँदैछ वा पाठेघरको अवस्था कस्तो छ भन्ने पहिचान गर्दछ”, गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख मोदराज भट्टले भने, “हामीले औषधि राखेर हेर्छौँ र परीक्षणबाट क्यान्सर बनाउने एचपिभी जीवाणु पोजेटिभ वा नेगेटिभ के छ भन्ने पत्ता लाग्छ । पाठेघरको अवस्था पत्ता लागेपछि सोही अनुसार उपचार गर्न सकिन्छ ।” यो विधिबाट एचपिभी भाइरस पत्ता लागेमा क्यान्सर हुनुअघि नै उपचार गरी बच्न सकिने चिकित्सक बताउँछन् ।

स्वास्थ्य शाखाका प्रमुख भट्टले पालिकाभित्रका सबैलाई पायक पर्ने गरी विभिन्न पाँच वटा वडामा शिविर सञ्चालन गरिएको जानकारी दिए । “शिविरमा २५ देखि ६० वर्ष उमेर समूहका महिलाले सेवा लिएका थिए”, उनले भने, “परीक्षण गराएकामध्ये करिब पाँच प्रतिशत महिलामा पाठेघरको मुखको क्यान्सर हुनसक्ने जोखिम रहेको पाइएको छ ।”

शिविरमा क्यान्सरको जोखिम देखिएका महिलाले समयमै थप उपचार गर्नुपर्ने भन्दै जोखिम न्यूनीकरण गर्न मद्दत पुग्ने उद्देश्यले शिविर सञ्चालन गरिएको प्रमुख भट्टले बताए । दुर्गम भेगका महिलामा पाठेघरको क्यान्सर, पाठेघर खस्ने समस्या तथा फिस्टुलाको समस्या बढी देखिने भएकाले समस्या पहिचान तथा न्यूनीकरण गर्न शिविर सञ्चालन गरिएको उनको भनाइ छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot