Logo

टी-२० विश्वकप : अभ्यास खेलमा नेपाल विजयी



काठमाडौं, जेठ १२ । आइसिसी टी-२० विश्वकपको तयारीका लागि अमेरिकामा रहेको नेपालले घरेलु टोली ह्युस्टन हरिकेन्सविरुद्ध पहिलो अभ्यास खेलमा ६ विकेटको जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा जितका लागि एक सय ४७ रनको लक्ष्य पछ्याएको हरिकेन्स निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४० रनमा समेटिएको थियो ।

हरिकेन्सका लागि लाहिरु मिलान्थाले सर्वाधिक ३३ रन बनाए । यस्तै अली शेखले २३, स्मित पटेलले १९ र आर्कषित गोमेलले १८ रन जोडे।

बलिङमा नेपालका सोमपाल कामी र करण केसीले दुई दुई विकेट लिए। कप्तान रोहित पौडेल, कुशल भुर्तेल, सागर ढकाल र अभिनाश बोहराले एक एक विकेट खसाले।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४६ रन बनाएको थियो । नेपालका लागि अनिल कुमार साहले सर्वाधिक ४७ रन बनाए ।

यस्तै रोहित पौडेलले २३, सन्दीप जोराले २१, गुलशन झाले २०, कुशल मल्लले १२ र करण केसीले १० रन बनाए । नेपालको ओपनिङ भने कमजोर बन्यो । ओपनरद्वय कुशल भुर्तेल एक र आसिफ शेख चार रनमा आउट भए ।

बलिङमा हरिकेन्सका उस्मान शिनवारी र इमरान खान जुनियरले दुई दुई विकेट लिए । जोश ट्रम्प, अली शेख र जिया जाहजादले एक एक विकेट लिए । नेपाल र हरिकेन्सबिचको दोस्रो अभ्यास खेल शनिबार राति हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot