Logo

चीनको बीआरआई कार्यान्वयन गर्नुपर्छ, भारतसँगको १९५० को सन्धि असान्दर्भिक : राजन भट्टराई



काठमाडौं, १२ जेठ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराईले विदेश नीतिका सम्बन्धमा अवधारणापत्र प्रस्तुत गर्दै समृद्धिको यात्रामा रहेको नेपालले आर्थिक कूटनीतिलाई महत्व दिनुपर्ने धारणा राखेका छन् । परराष्ट्र मामिला विभागले ‘बदलिंदो परिवेशमा विदेश नीतिका मुद्दाहरू’ विषयमा हिजो (शुक्रबार) आयोजना गरेको राउण्ड टेबल बैठकमा उनले यस्तो धारणा राखेका हुन् ।

देशको समृद्धिका लागि आर्थिक विकास र त्यसका लागि अन्तर्राष्ट्रिय सहयोग आफूहरुको आवश्यकता भएको उनको भनाई थियो । उनले बदलिँदो परिवेशमा विदेश नीतिको मुख्य पक्ष आर्थिक सम्बन्ध हुनुपर्नेमा जोड दिए । उनले नेपालका छिमेकी मुलुकहरू भारत र चीनसँग राम्रो सम्बन्धले मात्रै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सकिने बताए ।

डा. भट्टराईले दुई छिमेकी भारत र चीनसँग राम्रो सम्बन्ध स्थापित गर्न निरन्तर वार्ता र छलफल गरिनुपर्नेमा जोड दिए । वार्ता र छलफलले नै दुई देशबीचका समस्या समाधान हुने र सम्बन्धमा सुधार आउने उनले बताए । डा. भट्टराईले मुलुकमा वैदेशिक हस्तक्षेप रोक्न तथा कसैको प्रभाव र दबाबमा नपर्न कहिले कता, कहिले कता झुकाव राख्न नहुनेमा जोड दिनुहुँदै वैदेशिक हस्तक्षेपलाई निर्मूल गर्दै नेपाललाई स्वतन्त्रतापूर्वक हिंडाउनुपर्ने एमालेको नीति रहेको बताए ।

उनले भारतसँगको १९५० को सन्धि असमान र असान्दर्भिक रहेको समेत चर्चा गरे । यस्तै, चीनसँग बीआरआई कार्यान्वयन गर्नुपर्ने र नेपालले अधिकतम लाभ लिनुपर्नेमा उनले जोड दिए । कसैको प्रभाव र दबाबमा नपरी नेपाल र नेपालीको हित एमालेको परराष्ट्र नीति रहेको उनले स्पष्ट पारे । बैठकको विदेश मामिला विभाग सचिव डा. अञ्जान शाक्यले सहजीकरण गरेकी थिईन् भने विभागका सदस्यहरूले बदलिंदो परिवेशमा एमालेको विदेश नीतिका बारेमा धारणा राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot