Logo

गृहमन्त्री लामिछानेले प्रचण्डको साथ छोड्न नसक्नुको कारण पासपोर्ट होः ज्ञानबहादुर शाही



काठमाडौं, १२ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राहदानी प्रकरण ढाकछोप गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहारा लिएको टिप्पणी गरेका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो बताएका हुन् ।

‘उहाँले डेट गइसकेको नागरिकता प्रयोग गर्नुभएको थियो । अदालतले भन्दियो । उहाँले पनि त्यो स्वीकार गर्नुभयो । उहाँलाई अहिले पासपोर्टको मुद्दाले अल्झायो । प्रचण्डको साथ छोड्न नसक्नुको कारण नै पासपोर्ट हो । अरु कोही मान्छेलाई मुद्दा लाग्छ, त्यही मुद्दा रवि लामिछानेलाई लाग्दैन । उहाँले पुरानो नागरिकताबाट पासपोर्ट निकाल्नुभएको थियो । त्यो कानुनअन्तर्गत गलत हो । उहाँको नयाँ नागरिकताले लिएको भए त्यो गलत होईन । त्यो मुद्दा महान्यायाधिवक्ताको कार्यालयमा रोकिएको छ,’– उनले भने ।

आफ्नो पासपोर्ट काण्ड जोगाउन लामिछानेले प्रचण्डका कोहीपनि मान्छेलाई नछोएको उनको आरोप छ । उनले पञ्चा सिंहलाई उन्मुक्ति दिइएको भन्दै आपत्ति जनाए । हिजो नाकको डाँडी भाच्छु भन्ने मान्छे आज प्रचण्डको खुट्टामा परेको उनको टिप्पणी छ । सहकारी ठगी प्रकरणमा बन्न लागेको संसदीय समितिमा उपप्रधान एवं गृहमन्त्री लामिछानेको नामै तोकिनुपर्ने उनले बताए । नेता शाहीले छानविन गर्ने निकायको प्रमुख गृहमन्त्री आफैं भएकाले निश्पक्ष छानविन हुन नसक्ने भएर संसदीय समिति आवश्यक रहेको बताए । उनले भने, ‘छानविन कसले गर्छ ? गृह मन्त्रालयले होईन ? उहाँकै नाम जोडिएको विषयमा उहाँ आफैंले छानविन गर्न मिल्छ ? उहाँ गृहमन्त्री नभइदिएको भए उहाँको नाम राख्नु आवश्यक थिएन । छानविन गर्ने निकायको प्रमुख त गृहमन्त्री हुन्छन् नि त । आफूलाई आरोप लागेको कुरा आफैंले छानविन गर्न कहाँ मिल्छ ?’

साथै, एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको कारण देश बर्वाद भएको उनको आरोप छ । उनले वर्तमान व्यवस्थामा केपी ओली, शेरबहादुर देउवा, प्रचण्ड सबै खराब देखिएको बताए । उनीहरुले सहकारी ठगी प्रकरणमा छानविन समिति बनाउन खुट्टा कमाएको नेता शाहीको टिप्पणी छ ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणका रोइलो गर्नुपर्ने आवश्कत्ता नरहेको उनले बताए । उनले सिरोहियालाई समाचार लेखेकै भरमा पक्राउ नगरिएको जिकिर गरे । उनले भने, ‘अदालतले पक्राउ पुर्जी जारी गरेको कुरामा के को रोइलो भनेको ? उहाँ निर्दोष भए त छुटिहाल्नुहुन्छ नि । उहाँले समाचार लेखेको भनेर पक्राउ गरेको हो र ? नागरिकताको केसमा पक्राउ गरेको हो । अब गृहमन्त्रीलाई कैलाश सिरोहियाले लेखेको न्यूज गलत हो भने मुद्दा हाल भन्नुपर्छ । कसैले कसैको बारेमा गलत न्यूज लेख्न हुँदैन ।’



प्रतिक्रिया दिनुहोस्