Logo

कार्यादेश टुङ्गोमा पुर्‍याउन शीर्ष नेताहरुको बैठक बस्दै



काठमाडौं, जेठ १३ । सहकारी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्गो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच आज पनि बैठक बस्ने भएको छ । शनिबारको बैठकमा उक्त विषयमा टुङ्गो लाग्न नसकेपछि बैठक आज बस्ने तय भएको हो ।

कार्यादेशमा टुङ्गो लाग्न नसकेपछि बैठक पुनः आजका लागि तय गरिएको नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिए। हिजो शनिवार दिउँसो कार्यदलको बैठकपछि प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलका सबै सदस्यसहित शीर्ष नेताबीच छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालगायत सहभागी रहेका थिए।

सहमहामन्त्री परियारले छलफल सकारात्मक भए पनि टुङ्गोमा पुर्‍याउने बाँकी काम शीर्ष नेताबीचको बैठकले गर्ने बताए। उनले भने, “सहकारी सञ्चालकहरू, गोर्खा मिडिया नेटवर्कलगायतका कम्पनीहरू, यसका सञ्चालक समितिका पदाधिकारी, प्रबन्ध निर्देशक र आवश्यक अन्य कर्मचारीका बारेसमेत छानबिन गरिनुपर्छ भन्ने कुरा उठायौँ । त्यो कुरामा सहमति हुन सकेन ।”
त्यसअघि समितिको कार्यदेश कस्तो हुने भन्नेबारे कार्यदलमा सहमति भएको थियो। छानबिन गर्दा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख नगर्ने विषयमा कार्यदलका सदस्यहरु सहमतिमा पुगेका थिए ।

सिंहदरबारस्थित् कानून मन्त्रालयमा शनिबार बसेको कार्यदलको बैठकले सहमति गरेपछि शीर्ष नेताहरुबीच छलफल सुरु भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot