Logo

पोलियोविरुद्धको खोप प्रभावकारी, बालबालिकालाई आग्रह



काठमाडौँ, १३ जेठ । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाले पोलियोविरुद्धको ‘आइपिभी’ खोपको प्रभावकारिता रहेकाले आफ्ना बालबालिकालाई लगाउन आभिभावकलाई आग्रह गरेको छ ।

आजदेखि देशभरिका बालबालिकालाई लगाउन सुरु गरिएको आइपिभी खोपको प्रभावकारिता ९८ प्रतिशत रहेको अध्ययन देखाएकाले छुटेका सबैले अनिवार्य खोप लगाउनुपर्ने बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले बताए ।

“खोपको प्रभावकरिता उच्च रहेको छ । त्यसैले ढुक्क भएर अभिभावकले आफ्ना बालबालिकालाई स्कुलमा गएर खोप लगाउनुहुन आग्रह गरिरहेका छौँ”, उनले भने, “पोलियोविरुद्धको खोप नलगाएका बालबालिकामा यसको जोखिम रहेकाले खोप लगाउन अनुरोध गरेका हौँ ।”

सरकारले आजदेखि विसं २०७३ वैशाखदेखि विसं २०७५ असोजसम्म जन्मिएका १४ लाख ६२ हजार सात सय १२ जना बालबालिकालाई पोलियोविरुद्धको खोप ‘आइपिभी’ लगाउँदै छ ।

नेपालमा सन् २०१० देखि नै पोलियो रोग नदेखिए पनि छिमेकीमूलुक पाकिस्तान र अफगानिस्तानमा सङ्क्रमण देखिएकाले खोप अभियान सञ्चालन गरिएको खोप शाखाका प्रमुख डा गौतमले बताए । उनका अनुसार अभियान यही यही जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।

स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले खोप लगाउन छुटेका बालबालिकालाई पोलियो लाग्ने सम्भावना रहेकाले पोलियोबाट बचाउन खोप अभियान सञ्चालन गरिएको बताए । उनले खोप लगाउने बालबालिका विद्यालयमा हुने भएकाले विद्यालयमा खोप केन्द्र राखिएको जानकारी दिए । विद्यालय नजाने बालबालिकाका लागि अभियानको अन्तिम दिन स्वास्थ्य संस्थामा अभियान सञ्चालन गरिने डा पोखरेलले बताए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सङ्गिता कौशल मिश्राले विभिन्न किसिमका रोगबाट बालबालिकालाई बचाउन सरकारले विगत चार दशकदेखि नेपालका खोप अभियान सञ्चालन गर्दै आएको जानकारी दिए । उनले खोप लगाउन छुटेका बालबालिकालाई पोलियो लाग्ने उच्च जोखिम रहेकाले अभियान सञ्चालन गर्नुपरेको बताए ।

परिबार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले खोपबाट बचाउन सकिने रोगमध्ये पोलियो रहेकाले सबै अभिभावकलाई आफ्ना बालबालिकालाई खोप लगाउन आग्रह गरे । पोलियो रोग जुनसुकै उमेर समूहमा लाग्ने भए पनि पाँच वर्ष मुनिका बालबालिका बढी जोखिममा रहने उनको भनाइ छ ।

परिवार कल्याण महाशाखाका निर्देशक डा लालले सरकारले सञ्चालन गरेको अभियानबाट खोप लगाएर आफ्ना बालबालिकालाई पोलियोबाट सुरक्षित गराउन अनुरोध गरे ।

“पोलियो विश्वबाट उन्मूलन हुन अन्तिम अवस्थामा पुगेको छ । विश्वबाट उन्मूलन नभएसम्म नेपालमा पनि यसको जोखिम रहिरहन्छ”, उनले भने, “नेपालमा पोलियोको सङ्क्रमण नदेखिए पनि रोगविरुद्धको खोप लगाउन छुटेका बालबालिकामा जोखिम उच्च रहन्छ । तसर्थ खोप अभियान सञ्चालन गरेका हौँ ।” रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot