Logo

सहमतिका साथ शान्ति प्रक्रियालाई चाँडो टुङ्गोमा पुर्‍याऔँः उपाध्यक्ष सापकोटा



काठमाडौं, १३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् प्रवक्ता अग्नीप्रसाद सापकोटाले जारी शान्ति प्रक्रियालाई जतिसक्दो चाँडो टुङ्गोमा पुर्‍याउनुपर्ने बताएका छन् ।

प्रेस सेन्टर नेपालले कृष्ण सेन ‘इच्छुक’को २२औँ स्मृति दिवसका अवसरमा आज काठमाडौँमा आयोजना गरेको ‘प्रभातफेरी’ कार्यक्रममा उनले शान्ति प्रक्रियाजस्तो संवेदनशील विषयमा राजनीति नगरी सहमतिका साथ टुङ्गोमा पुर्‍याउनुपर्ने बताए । उपाध्यक्ष सापकोटाले नेपालको पत्रकारितामा कृष्ण सेनको योगदान अमूल्य रहेको चर्चा गर्दै उनको न्यायका लागि सिङ्गो पत्रकारिता जगत लाग्नुपर्ने बताए ।

कार्यक्रममा समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी, नेपाल पत्रकार महासंघका पूर्वमहासचिव ओम शर्मा, प्रेस काउन्सिल नेपालका सदस्य दिपक पाण्डे र प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ ले द्वन्द्वकालमा इच्छुकलगायत पत्रकारले देश र जनताका पक्षमा कलम चलाउँदा जेलनेलको यातनासहित जीवन गुमाउनुपरेको उल्लेख गर्दै उनीहरूको सपना साकार तुल्याउन एकतावद्ध भई अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

मानवअधिकारकर्मी, लेखक तथा जनादेश साप्ताहिकका सम्पादकसमेत रहेका इच्छुकको काठमाडौँस्थित प्रहरी हिरासतमा रहेकै बेला विसं २०५९ जेठ १३ गते निधन भएको थियो । रासस/file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot