Logo

विपन्न बालबालिकाको सहारा बन्दै छात्रवृत्ति अक्षयकोष



त्रिवेणी (रुकुमपश्चिम), १३ जेठ । रुकुमपश्चिमको बाँफीकोट गाउँपालिकामा विसं २०७६ मा स्थापना भएको आमाबाबु स्मृति प्रतिष्ठान छात्रवृत्ति अक्षयकोष विपन्न, टुहरा तथा जेहेन्दार विद्यार्थीका लागि सहारा बन्दै गएको छ ।

पालिकामा रहेका विपन्न, टुहुरा तथा जेहेन्दार विद्यार्थीका लागि अक्षयकोष सहारा बन्दै गएको हो । शैक्षिक अवस्था सुधार गर्ने उद्देश्यले स्थापना भएको अक्षयकोषले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई सहयोग गर्दैै आएको छ । पालिकाभित्र आर्थिक अभावका कारण शिक्षाबाट कुनै बालबालिका वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले कोष स्थापना गरेको आमाबाबु स्मृति प्रतिष्ठान छात्रवृत्ति अक्षकोषका अध्यक्ष चन्दबहादुर केसीले जानकारी दिए ।

उनका अनुसार अक्षयकोषबाट विपन्न, जेहेन्दार, सहिद परिवार तथा टुहुरा बालबालिकालाई पहिलो प्राथमिकतामा राखेर वर्षभरि पुग्ने शैक्षिक सामग्री वितरण गर्ने गरिएको छ । कोष स्थापना भएदेखि हालसम्म पालिकाभित्रका तीन सय २७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । “जुन उद्देश्यले अक्षयकोष स्थापना गरिएको हो त्यो उद्देश्यले सार्थकता पाएको छ, हामीले पालिकामा शैक्षिक सुधार गर्न र पालिकाका बालबालिका शिक्षा प्राप्त गर्नबाट बञ्चित नहोउन् भनेर स्थापना गरेका थियौँ”, अध्यक्ष केसीले भने ।

गत शुक्रबार मात्रै प्रतिष्ठानले छात्रवृत्ति अक्षयकोषबाट पालिकाभरका सामुदायिक विद्यालयबाट छनोट गरेर एक सय १५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

विद्यालयले छनोट गरेर पठाएका गरिब, जेहेन्दार तथा टुहुरा बालबालिकालाई छात्रवृत्तिका लागि अक्षयकोष सञ्चालक समितिको छनोट समितिले निर्णय गरेर नयाँ शैक्षिकसत्रमा छात्रवृत्ति वितरण दिने गरेको छ । अक्षयकोषमा देश तथा विदेशमा रहेका ९६ जना दाताले रकम सहयोग गरेका छन् । यस वर्ष खर्च भएकोबाहेक अक्षयकोषमा रु ३६ लाख ९५ लाख दुई सय २५ बचत रहेकोे अक्षयकोषले जनाएको छ । बचत रहेको रकम शिक्षकलाई २० प्रतिशत लगानी गर्ने र हरेक वर्षको ब्याज रकमबाट छात्रवृत्ति प्रदान गर्ने गरिएको अक्षयकोषका अध्यक्ष केसीले जानकारी दिए ।

अबको केही वर्षमा अक्षयकोष एक करोड पु(याउने र त्यसबाट थप शैक्षिक सुधारको काम गर्ने संस्थाले जनाएको छ । आमाबाबुको सम्झनामा अक्षयकोष खडा गरेर गरिब तथा जेहेन्दार विद्यार्थीको पठनपाठन सहज भएको बालविकास आधारभूत बटगाउँका प्रधानाध्यापक चन्द्रप्रकाश दाहालले बताए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot