Logo

पैँतिस हजार विपन्न नागरिकले पाए निःशुल्क उपचार



काठमाडौँ, १३ जेठ । सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गतको विपन्न नागरिक औषधि उपचार कार्यक्रमबाट चालु आर्थिक वर्ष २०८०/८१ को फागुनसम्म ३५ हजार विपन्न नागरिकले सेवा लिएका छन् । फागुनसम्म ३५ हजार एक सय ४३ विपन्न नागरिकले सेवा प्राप्त गरेका हुन् ।

आज सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण २०८०/८१ मा १७ हजार आठ सय ८८ ले क्यान्सर, पाँच हजार दुई सय ९९ ले मुटु, एक सय ९१ ले मिर्गौला प्रत्यारोपणसहित आठ हजार आठ सय ८२ नागरिकले मिर्गौलासम्बन्धी सेवा पाएका छन् । त्यसैगरी हेमोडायलाइसिसको उपचार सात हजार तीन सय आठ, पेरिटोनियल डायलाइसिस तीन सय ६९, मिर्गौलाको औषधि सेवन गरिरेहका छ सय छ, सेरो पोजेटिभ हेमोडायलाइसिस एक सय ६६ जना र क्रस म्याचका दुई सय ४२ जना बिरामीले सेवा लिएका छन् ।

त्यस्तै, पार्किन्सन्सका ७८, अल्जाइमर ३४, हेड इन्जुरी पाँच सय ६४, स्पाइनल इन्जुरी आठ सय ७७ र सिकलसेल एनिमियाका एक हजार पाँच सय २१ जनाले सहुलियत लिएका छन् । गत आर्थिक वर्षमा ३५ हजार दुई सय ८४ विपन्न नागरिकले यी सेवा प्राप्त गरेका थिए ।

सरकारले उक्त कार्यक्रमअन्तर्गत मुटुरोग, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाईनल इन्जुरी, हेड इन्जुरी तथा सिकलसेल एनिमियालगायत कडा रोगमा सहायता उपलब्ध गराउँदै आएको छ । सरकारले रु एक लाखसम्मको सहुलियत रकम प्रदान गर्दै आएको छ भने मिर्गौला प्रत्यारोपणक लाागि रु चार लाखसम्म सहुलियत रकम बिरामीले पाइरहेका छन् ।

आर्थिक वर्ष २०७८/७९ देखि विपन्न नागरिकको औषधि उपचारवापत मासिकरुपमा पाँच हजार आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था सरकारले गरेको थियो । चालु आवको पुससम्म २४ हजार दुई सय २४ विपन्न नागरिकलाई ८५ करोड ३७ लाख ३१ हजार उपलब्ध गराइएको छ । गत आर्थिक वर्षमा ४० हजार ५६ विपन्न नागरिकलाई एक अर्ब १३ करोड ९२ लाख ५६ हजार उपलब्ध गराइएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot