दमौली (तनहुँ), १३ जेठ । तनहुँको व्यास नगरपालिका–३ स्थित फलफूल लाइनमा भएको आगलागीपीडितलाई उचित राहत प्रदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराइएको छ ।
राष्ट्रियसभा सदस्य एवम् नेकपा (एमाले) का प्रमुख सचेतक भगवती न्यौपानेले आज प्रधानमन्त्री दाहाललाई भेटेर पीडितलाई उचित राहत र क्षतिपूर्ति प्रदान गर्न ध्यानाकर्षण गराएकी हुन् । त्यसक्रममा प्रधानमन्त्री दाहालले पीडितलाई राहत दिने विषयमा सरकार गम्भीर रहेको आश्वासन दिएको न्यौपानेले जानकारी दिइन् ।
उनले भनिन्, “आगलागीका कारण २१ जनाको रोजीरोटी गुमेको छ, व्यापार व्यवसाय बन्द भएको छ । सरकारका तर्फबाट के गर्न सकिन्छ त्यसतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकी छु । उहाँबाट सकारात्मक जवाफ आएको छ ।”
न्यौपानेले शनिबारमात्रै दमौलीमा पीडितसँग भेटेर सरकारसमक्ष कुरा पु¥याउने प्रतिबद्धता जनाएकी थिइन् । गत सोमबार बिहान १२ः४५ बजे आगलागी हुँदा जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका यहाँका २१ व्यवसायिक सटर पूर्णरूपमा जलेका थिए । यहाँ आइसिक्रम पसल, सैलुन, फलफूल, मदिरा, मोबाइल, पुस्तक पसल, दूध डेरीलगायत सञ्चालनमा थिए ।
त्यसक्रममा छ करोड ९९ लाख ५१ हजार छ सय ७० को क्षति भएको व्यास नगरपालिकाले गठन गरेको समितिले जनाएको छ । आगलागीका क्रममा थोरै तीन लाख दश हजारदेखि एक करोड १५ लाखसम्मको क्षति भएको छ । सबैभन्दा बढी इमेज मोबाइलको एक करोड १५ लाख र रक्सी बिक्रेताको एक करोड १५ लाख क्षति भएको नगरपालिकाले गठन गरेको समितिका संयोजक एवम् वडाध्यक्ष अनुप रानाले जानकारी दिए । रासस