Logo

भक्तपुर अस्पतालमा पाठेघरको निःशुल्क उपचार



भक्तपुर, १३ जेठ । भक्तपुर अस्पतालले १० दिनमा २१ जनाको निःशुल्क पाठेघरको शल्यक्रिया गरेको छ । पाठेघर खस्ने समस्या भएका तर उपचारको पहुँचसम्म नआएका महिलालाई लक्षित गर्दै अस्पतालले निःशुल्क उपचार एवम् शल्यक्रिया सुरू गरेको अस्पतालका निर्देशक डा सुमित्रा गौतमले जानकारी दिए ।

निःशुल्क उपचार गरिएकामध्ये १८ जना सिन्धुपाल्चोक र बाँकी सिन्धुली, काभ्रेपलाञ्चोकलगायत जिल्लाका रहेका उनले जानकारी दिए । भक्तपुरका ग्रामीण भेग र अन्य जिल्लाबाट पनि बिरामी आउनेक्रम जारी रहेको जानकारी दिँदै उनले महिलालाई रोग लुकाएर नबस्न र उपचारका लागि आउन आह्वान गरे ।

डा गौतमले भने, “पाठेघर खस्ने समस्या लिएर आएका महिलामा धेरै पीडा लुकेको पाइँयो, केहीले रोग भन्न नसकेर बसे पनि धेरैले आर्थिक अभावका कारण शल्यक्रिया गर्न नसकेको गुनासो गर्ने गरेको छन् । अब पैसा नभएकै कारण उपचार रोकिँदैन, हामी निःशुल्क उपचार गर्छौँ । यहाँ आएका जुनसुकै क्षेत्रका महिलाले निःशुल्क उपचार एवम् शल्यक्रिया सेवा पाउँछन् ।”

अस्पतालले बिरामीको पाठेघरको परीक्षण, ल्याब परीक्षण, शल्यक्रिया, अस्पतालमा रहेसम्म बिरामी र एकजना कुरुवालाई निःशुल्क खाना र बस्ने व्यवस्था गर्नुका साथै घर फर्कदा यातायात खर्चबापत रु एक हजार दिएर पठाउने गरेको छ ।

सङ्घीय सरकारबाट प्रदेश सरकार स्वास्थ्य निर्देशनालयमार्फत आउने बजेटबाट खर्च समायोजन गर्ने गरी पाठेघरको निःशुल्क उपचार एवम् शल्यक्रिया अभियान सुरू गरिएको जनाइएको छ । यो भियान असार मसान्तसम्म चल्नेछ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot